७ दिनभित्र निर्माण कार्यतालिका उपलब्ध नगराए र त्यसअनुसार काम नगरे निर्माण कम्पनी सम्बद्ध ठेकेदारहरूको फोटोसमेत सार्वजनिक स्थलमा सार्वजनिक गर्ने मेयर भट्टराईले बताएका छन्
खोटाङ — जिल्ला अस्पतालको भवन निर्माणमा अटेर गर्ने कम्पनीलाई सात दिनभित्र कार्यतालिका पेस गर्न अनुरोध गरिएको छ । बेलामा भवन नसक्दा उपचारमा समस्या भएको भन्दै निर्माणस्थलमै पत्रकार सम्मेलन गरी सम्बद्ध निर्माण कम्पनीले सात दिनभित्र कार्यतालिका पेस नगरे कानुनी कारबाही गर्ने समेत जानकारी गराइएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले निर्माणस्थलमा पत्रकार सम्मेलन गरी निर्माणमा संलग्न श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभी र उक्त निर्माण कम्पनी सम्बद्ध ठेकेदारहरूको नामसमेत सार्वजनिक गरेका छन् । ७ दिनभित्र निर्माण कार्यतालिका उपलब्ध नगराए साथै त्यसअनुसार काम नगरे निर्माण कम्पनी सम्बद्ध ठेकेदारहरूको फोटोसमेत सार्वजनिक स्थलमा सार्वजनिक गर्ने भट्टराईले बताए । ‘अस्पताल भवन बेलामा नसक्दा उपचारमा समस्या भएको छ,’ भट्टराईले भने, ‘सात दिनभित्र कार्यतालिका नदिए साथै त्यसअनुसार काम नगरे कानुनी कारबाहीका लागि प्रक्रिया बढाइने छ ।’
त्यस्तै जिल्ला समन्वय समिति खोटाङका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, निर्माण व्यवसायी र सरोकारवालाको उपस्थितिमा विभिन्न समयमा भएको बैठकको निर्णय अनुसार काम नगर्नुको कारण सम्बन्धित निर्माण कम्पनीसँग लिखित जानकारी लिने समेत भट्टराईले बताएका छन् ।
२२ करोड ९० लाख ४७ हजार ९२ रूपैयाँको लागतमा ३० महिनाभित्र सक्ने गरी श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले २०७८ असार २४ गते सम्झौता गरेको थियो । तर पटक–पटक म्याद थप गर्दै काममा ढिलासुस्ती गरेकाले निर्माणस्थलमै आएर पत्रकार सम्मेलन गर्नु परेको भट्टराईको भनाइ छ ।
