सुरुंगाबाट बिर्तामोडतर्फ आउँदै गरेको पिकअप र विपरीत दिशाबाट जाँदै गरेको भ्यान आपसमा ठोक्किँदा भ्यानका चालकको मृत्यु भएको छ भने एकै घरका ४ जना घाइते भएका छन् ।
झापा — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कनकाई–८ स्थित बिरिङ खोला पुलमा पिकअप र मारुती भ्यान एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
करिब पौने ९ बजेको समयमा सुरुंगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट जाँदै गरेको मे १ च ३४४० नम्बरको भ्यान आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा भ्यानका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको पूर्ण पहिचान भइसकेको छैन । दुर्घटनामा घाइते भएका भ्यानका चालकलाई तत्काल उद्धार गरी बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनासाथ डाक्टरले उनको मृत्यु भएको घोषणा गरेका थिए ।
यसैगरी दुर्घटनामा सोही भ्यानमा सवार शिवसताक्षी–७ कै ४० वर्षीय पृथ्वीनाथ शाह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी शाह, छोरा प्रसन्न शाह र छोरी प्रिन्सा शाह घाइते भएका छन् । उनीहरूको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पिकअप र पिकअप चालक धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । के कारणले दुर्घटना भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
