महासंघले विधेयकमा समावेश प्रावधानहरू संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म र भावनाविपरीत रहेको ठहर गर्दै यसको पूर्ण खारेजी माग गरेको हो ।
What you should know
विराटनगर — कोशी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरी अघि बढाएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ पत्रकारिता क्षेत्र र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार भएको भन्दै नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिले चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।
महासंघले विधेयकमा समावेश प्रावधानहरू संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म र भावनाविपरीत रहेको ठहर गर्दै यसको पूर्ण खारेजी माग गरेको हो । महासचिव हिमाकुमारी चेम्जोङद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, 'न्याय प्रशासन तथा विधायन समितिबाट पारित गरेर प्रदेशसभामा पेस गरिएको विधेयक पत्रकारिता व्यवसाय र स्वतन्त्रताको हनन गर्ने उद्देश्यले ल्याइएको छ, त्यसैले यो स्वीकार्य छैन ।'
भदौ ८ गते विभिन्न सञ्चारसम्बद्ध संघसंस्था र सरोकारवाला पक्षहरूसँगको सर्वपक्षीय छलफलपछि महासंघले दबाबमूलक कार्यक्रमको पहिलो चरण सार्वजनिक गरेको हो । भदौ ९ मा प्रदेशभरका पत्रकारहरूले सामाजिक सञ्जाल अभियानमार्फत विधेयक सच्याउन सरकार र प्रदेशसभालाई खबरदारी गर्ने, १० मा मुख्यमन्त्री, विभागीय मन्त्री र संसदीय दलका नेताहरूलाई भेटेर औपचारिक ध्यानाकर्षण गराउने तथा पत्रकारहरूले ‘प्रेस स्वतन्त्रताविरोधी प्रावधान खारेज गर’ भन्ने नारासहित प्रदेशव्यापी प्रदर्शन गर्ने, ११ मा प्रदेशका पत्रकारहरूले आ–आफ्ना जिल्लाका प्रदेशसभा सदस्यहरूलाई प्रत्यक्ष सन्देश पठाएर विरोध जनाउने, १२ मा मुख्यमन्त्री कार्यालय तथा जिल्लास्तरमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम र १३ मा आन्दोलनको पहिलो चरणको समापनस्वरूप दिउँसो १ बजे विराटनगरस्थित देवकोटा चोकमा धर्ना दिने जनाइएको छ ।
पत्रकार महासंघका पदाधिकारीहरूका अनुसार, विधेयक सच्याउन वा खारेज गर्न प्रदेश सरकार र सभाले चासो नदिए दोस्रो चरणमा अझ कडा आन्दोलन घोषणा गर्ने तयारी गरिएको छ ।
