नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष फूर्वा शेर्पाद्वारा हस्ताक्षरित पत्रमा आदिवासीहरूको अधिकार, भाषा, धर्म, संस्कार संरक्षणको माग गरिएको छ।
खोटाङ — आईएलओ महासन्धि १६९ लगायत नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कानुन निर्माण र कार्यान्वयनको माग गर्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ध्यानाकर्षण–पत्र बुझाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ खोटाङले नगर प्रमुख तीर्थराज भट्टराईलाई आइतबार ध्यानाकर्षण–पत्र बुझाएको हो ।
महासंघका अध्यक्ष फूर्वा शेर्पाद्वारा हस्ताक्षरित ध्यानाकर्षण–पत्रमा आदिवासी समुदायको अधिकार, भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गर्दै आत्मनिर्णयको अधिकार दिन माग गरिएको छ ।
यसैगरी, स्वशासनको अधिकार, प्राकृतिक स्रोत साधनमाथिको अधिकार, पहिचानको अधिकार, भूमिमाथिको अधिकार र स्वतन्त्र पूर्वजानकारीसहितको सहमतिको अधिकार लगायत अन्य सबै अधिकारको संरक्षण तथा सम्वर्द्धनका लागि नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा आधारित रही विशिष्ट कानुन बनाउन, निर्देशिका एवं कार्यविधि निर्माण गर्न पहल गर्नुपर्ने पनि ध्यानाकर्षण–पत्रमा उल्लेख छ ।
