कोशी राजमार्गको हुङ्गुङ खण्डमा पहिरो, तीन दिनदेखि राजमार्ग ठप्प

खाँदबारीदेखि किमाथां नाकासम्म जोड्ने यो राजमार्ग हुङ्गुङ नजिकै करिब १ सय १५ किलोमिटर खण्डमा गएको ठूलो पहिरोका कारण बन्द भएको हो।

भाद्र ७, २०८२

दीपेन्द्र शाक्य

Landslide in Hungung section of Koshi highway, highway blocked for three days

संखुवासभा — कोशी राजमार्ग अन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा पहिरो गएको छ। पहिरोका कारण राजमार्ग आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ। खाँदबारीदेखि किमाथां नाकासम्म जोड्ने यो राजमार्ग हुङ्गुङ नजिकै करिब १ सय १५ किलोमिटर खण्डमा गएको ठूलो पहिरोका कारण बन्द भएको हो।

करिब ३ सय मिटर सडकमा पहिरो खसेकाले पूर्ण रूपमा यातायात बन्द भएको कोशी उत्तरदक्षिणी सडक योजनाका प्रमुख रामबहादुर गुरुङले बताए।

'ठूलो ढुंगा, माटो र झाडी मिसिएको पहिरो सडकमा खसेपछि सम्पूर्ण यातायात अवरुद्ध भएको छ,' उनले भने। भीरालो भूभाग भएकाले तत्काल पहिरो पन्छाउन गाह्रो भएको उनको भनाइ छ। 'भीरकै ढुंगा र माटो खसेकाले मेसिन प्रयोग गर्न सक्ने अवस्था छैन, जसले गर्दा काम अझै जटिल भएको छ,' गुरुङले थपे।

तीन दिनअघि गएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु, इन्धन, निर्माण सामग्रीलगायतका सामान ढुवानी प्रभावित भएको उनले बताए।

'निर्माणाधीन सडक भएकाले हरेक वर्ष वर्षायाममा यस क्षेत्रमा पहिरो जाने गरे पनि यस पटकको पहिरो अत्यधिक ठूलो भएकाले कहिले खुल्ने भन्ने टुंगो छैन,' उनले भने। योजनाका प्राविधिक टोलीले पहिरो हटाउने प्रयास जारी राखेका छन् तर भीरालो जमिन र लगातारको वर्षाले थप चुनौती बढाएको छ।

तीन दिनदेखि ठप्प रहेको कोशी राजमार्ग कहिले सुचारु हुन्छ भन्ने निश्चित छैन।

दीपेन्द्र शाक्य

Link copied successfully