हरियो सिजनमा खंग्रङ्ग चिया बगान

झापाका चिया बगानमा फैलिएको ‘लुपर’ रोगका कारण बगान नै सखाप हुने अवस्था देखिएको छ ।

भाद्र ७, २०८२

नवराज सुवेदी

Khangrang tea garden in green season

What you should know

झापा — आम्दानीको मुख्य सिजनमा हरियो हुने चिया बगान सुक्दै गएको छ । चियाको बोटमा मुना त जसोतसो आएका छन् तर बगान खंग्रङ्ग देखिन्छ ।

चियाका पात कीराले खाएर छिद्रैछिद्रा भएको छ । कतिपय बोट त झिक्राजस्ता देखिन्छन् । चिया टिप्न सक्ने अवस्था छैन । 'न चियाको बोट नै हेरेर मन थामिने अवस्था छ,' हल्दीबारीका चिया किसान गोपाल गिरी गुनासो गर्छन् ।

पर्याप्त सिँचाइ नभएपछि धान खेतीको विकल्पमा चिया लगाएका उनको बगानमा चियाका बुटा मर्दै छन् । आम्दानीको त कुरै छैन । भएकै बगान पनि सकिने अवस्था छ । कारण– चिया बगानमा फैलिएको ‘लुपर’ को प्रकोप । ‘यस वर्ष साना–ठूला सबै बगानमा लुपरको प्रकोप देखियो । अरु बेला सामान्य औषधिले प्रकोप नियन्त्रण हुन्थ्यो,’ उनले भने, ‘तर यस वर्ष नियन्त्रण नै गर्न सकिएन । बगान नै सखाप हुने अवस्था छ ।’

हल्दीबारीका चिया किसान गिरीको मात्रै होइन जिल्लाका अधिकांश चिया बगानको अवस्था अहिले यस्तै छ । चिया बगान त छ । तर, मुना पलाउँदैनन् । चियाकै छिप्पिएका पात समेत किराले खाएर बुटा नै मर्न थालेका छन् । भद्रपुरस्थित कालिका टि–इस्टेटको अधिकांश भागमा यसको प्रकोप फैलिएको छ । जसका कारण टि–इस्टेटले हरियो चियापत्तीको चरम अभाव भोगिरहेको उद्योगका म्यानेजर शिलाकान्त चौधरीले बताए । एक सयभन्दा बिघा बढी क्षेत्रफलमा फैलिएको बगानको अधिकांश भागमा लुपर फैलिएको हो ।

‘नियन्त्रणको प्रयास गर्दागर्दै चिया बगानको सम्पूर्ण भागमा लुपर फैलियो,’ उनी भन्छन्, ‘प्रकोप नियन्त्रणका लागि धेरै औषधि प्रयोग पनि गर्‍यौं । तर, नियन्त्रण भएन ।’ यस वर्षको चिया सिजनको सुरुवातबाटै बगानमा विभिन्न किराको संक्रमण सुरु भएको उनले बताए ।

उनका अनुसार सुरुमा चिया बगानमा थिप्सको संक्रमण देखियो । त्यसलाई जसोतसो नियन्त्रण त गरियो । लगत्तै लुपरको प्रकोप सुरु भयो । ‘करिब अढाई महिनादेखि बगानमा लुपरको प्रकोप छ । प्राविधिकको सल्लाहअनुसार सबै खाले औषधि प्रयोग गरिसक्यौ्  । प्रकोप नियन्त्रण भएन,’ उनले सुनाए ।

किसानहरुका अनुसार लुपर खासगरी रातको समयमा सक्रिय हुन्छ । यसले रातको समयमा पात चपाउने काम गर्छ भने दिनको समयमा माटोमुनि लुकेर बस्छ । यसलाई ‘लुपर क्याटरपिलर’ वा ‘टि लुपर’ भनेर चिनिन्छ । यसको माउ पुतली हुन्छ । जसले पातमा पारेका असंख्य अण्डाबाट लार्भा निस्कन्छ र चियाको पात खाने गर्छ ।

जिल्लाकै वैभव टि–इस्टेटका प्रबन्धक ओमप्रकाश झाका अनुसार ५/७ वर्षअघि पनि यस किराले चिया बगानमा असर पुर्‍याउँथ्यो । तर, त्यो असर सामान्य हुन्थ्यो । त्यस समयमा सामान्य किटनाशक विषादीले किरा मर्ने गरेको अनुभव उनीसँग छ । तर, अहिले कडा खालको विषादीले समेत असर गर्न छोड्यो । जसका कारण हरियो पत्ती सखाप हुादै गएको उनको भनाइ छ ।

१ सय ३५ बिघा क्षेत्रफलमा फैलिएको उनको बगानमा किराको प्रकोप सुरु भएपछि उत्पादनमा ५० प्रतिशत ह्रास आएको छ भने नियन्त्रणका लागि उनको प्रयास रोकिएको छैन । लुपरको प्रकोप जिल्लाको प्रायः सबै पालिकामा फैलँदो क्रममा छ । विशेषगरी मेचीनगर, हल्दीबारी, भद्रपुरलगायत क्षेत्रका चिया किसान तथा उद्योगी यसबाट अत्यन्तै प्रभावित छन् ।

Khangrang tea garden in green season

अरु बेलाभन्दा वर्षायाममा हरियो चियाको उत्पादन बढी हुने गर्छ । जसका कारण किसान तथा उद्योगीको आम्दानीको मुख्य समय पनि यहि हो । तर, यस वर्ष भने सुरुवातबाटै विभिन्न किराको संक्रमण सुरु भयो । जसका कारण चियाको उत्पादन पनि निरन्तर ओरालो लाग्यो ।

झापामा १० हजार ५ सय हेक्टरमा चिया खेती विस्तार गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड प्रादेशिक कार्यालय झापाका अनुसार अहिले जिल्लामै ठूला तथा साना चिया बगानमा लुपर क्याटरपिलरको प्रकोप छ । यस किरालाई नियन्त्रण गर्न नयाँ–नयाँ औषधिको खोजी भइरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड प्रादेशिक कार्यालयका चिया विज्ञ अनन्त ढुङ्गनाले बताए । 

चिया उत्पादक किसान तथा उद्योगीले धेरै उत्पादन लिन आवश्यकताभन्दा बढी मात्रामा रासायनिक मल तथा विषादीको प्रयोग गर्नाले पछिल्लो समय रोगकिरा नियन्त्रण चुनौती बनिरहेको उनको भनाइ छ । ‘किराले लगभग सबैखाले विषादी पचाइसक्यो । अब विज्ञहरुको सल्लाह अनुसार मात्र विषादी तथा रासायनिक मल प्रयोग गर्नुहोला,’ उनले भने । 

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीले भने मौसम बिग्रँदा यस किराको संख्या बढ्ने हुँदा महामारीजस्तै देखिएको बताए । यद्यपि ज्ञान केन्द्रले आवश्यक समन्वय गर्दै नियन्त्रणको पूर्ण प्रयास गरिरहेको उनको भनाइ छ ।

नवराज

Link copied successfully