सन् १९९० मा सगरमाथा चढेका आन्द्रे र मारिया स्ट्राम्फेलले ७० बढी बालबालिकाको लागि पूर्वाधार र खेल सामग्री व्यवस्थापनमा सहयोग गरेका हुन्।
ताप्लेजुङ — बालकक्षा स्तरोन्नतिका लागि फुङलिङ नगरपालिका–१ को महेन्द्र आधारभूत विद्यालयलाई सगरमाथा आरोही दम्पतीले तीन लाख रुपैयाँ सहयोग गरेका छन् ।
सन् १९९० मा पहिलो विवाहित जोडी बनेर सगरमाथाको सफल आरोहण गर्दै गिनिज बुकमा नाम लेखाएका स्लोभेनियाका नागरिक आन्द्रे र मारिया स्ट्राम्फेलले आर्थिक सहयोग गरेका हुन् ।
यसबाट यस विद्यालयमा अध्ययनरत ७० बढी बालबालिका लाभान्वित हुने भएका छन् । यसको समन्वय गरेका पर्यटन व्यवसायी मणि खतिवडाका अनुसार उनीहरूले यसअघि पनि विद्यालयलाई सहयोग गर्दै आएका छन् ।
त्यसैको निरन्तरतास्वरुप यस पटक पनि सहयोग गरेका हुन् । यो रकमबाट बालबालिकाका लागि आवश्यक पूर्वाधार, खेल सामग्री व्यवस्थापन गरिने खतिवडाले जानकारी दिए ।
सगरमाथाको आरोहणदेखि कञ्चनजङ्घा क्षेत्रको पटक–पटक भ्रमण गरेका यी दम्पतीले शिक्षा स्वास्थ्य लगायतको क्षेत्रमा सहयोग गरेको खतिवडाले बताए । पूर्वको ताप्लेजुङदेखि पश्चिम हुम्लाको हिल्सासम्मको ग्रेट हिमालयन ट्रेल यात्राको अनुभव समेटिएको पुस्तक प्रकाशित गरेको छ ।
पुस्तक अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने र त्यसबाट संकलित रकमसमेत यहाँका विद्यालयमा लगानी गर्ने गरेको खतिवडाले जानकारी दिए ।
खतिवडाकै समन्वयमा यसअघि पाथीभरा याङवरक–१ नाखोल्याङको सुन्दरमाला आधारभूत विद्यालयको भवन निर्माण, बरडाँडा आधारभूत विद्यालयको भवन निर्माण तथा कक्षाकोठा स्तरोन्नति लगायतका लागि सहयोग गरेका थिए ।
