समाचार सामग्रीका आधारमा पत्रकार र सञ्चारमाध्यमलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान राखिएको छ, जसको पत्रकारहरूले तीव्र विरोध गरिरहेका छन् ।
विराटनगर — कोशी प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको सञ्चारसम्बन्धी विधेयकको विरोधमा शुक्रबार पत्रकारहरूले विराटनगरमा प्रदर्शन गरेका छन् ।
प्रदेशसभा परिसरभित्र संसदीय पत्रकारहरूले शान्तिपूर्ण धर्ना दिएका थिए भने नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति र विभिन्न सञ्चारकर्मी संगठनका प्रतिनिधिहरूको टोलीले परिसर बाहिर प्रदर्शन गरेको थियो ।
प्रदर्शनका क्रममा प्रहरी र पत्रकारबीच घम्साघम्सीसमेत भएको छ। पत्रकारहरूले विधेयकका केही प्रावधान प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने खालका भएको भन्दै त्यसको विरोधमा आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भई शुक्रबार प्रदेशसभामा पेस गरिएको हो । प्रस्तावित विधेयकमा समाचार सामग्रीका आधारमा पत्रकार र सञ्चारमाध्यमलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान राखिएको छ, जसको पत्रकारहरूले तीव्र विरोध गरिरहेका छन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति, मोरङ जिल्ला समिति र संसदीय पत्रकार समाजले प्रेस वक्तव्य जारी गर्दै प्रदेश सरकारलाई विधेयक तत्काल फिर्ता लिन माग गरेका छन् । प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी पत्रकारका संघसंस्थाहरुले दिएका छन् ।
