विद्यालयबाट घर फर्कने क्रममा 'कुरा गर्नु छ' भन्दै दुई जनाले जंगलको ओढारमा लगेर रातभरि बलात्कार गरेको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
खोटाङ — केपिलासगढी गाउँपालिकामा बालिकामाथि सामूहिक बलात्कार गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन् । साउन १९ गते विद्यालयबाट घर फर्कने क्रममा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गर्ने दुई मध्येका एक जना जालपाको जरङ्खाबाट शुक्रबार पक्राउ परेका हुन् ।
स्थानीय एक विद्यालयमा कक्षा–८ मा अध्ययनरत बालिका उक्त विद्यालयकै कक्षा–९ मा अध्ययनरत दुई जनाबाट बालिका बलात्कृत भएकी थिइन् । विद्यालयबाट घर फर्कने क्रममा 'कुरा गर्नु छ' भन्दै दुई जनाले जंगलको ओढारमा लगेर रातभरि बलात्कार गरेको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
विद्यालय गएकी बालिका घर नआएपछि आफन्तले खोज्ने क्रममा भोलिपल्ट घटनास्थलमै फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् । ‘बलात्कारमा संलग्न दुईमध्ये एक जनालाई आज पक्राउ गरिएको छ,’ मिश्रले भने, ‘एक जनाको खोजी भइरहेको छ ।’
बालिका बलात्कृत भएपछि आफन्तले साउन–२१ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता गराएका थिए ।
