नगर परिसरमा जम्मा भएको फोहोरको डंगुर ट्र्याक्टरमा हालेर निर्बाध रूपमा खोला किनारमा ल्याएर खन्याउने गरेको छ ।
What you should know
झापा — पूर्वी नेपालको दुई स्थानीय तह मेचीनगर र विर्तामोड नगरपालिकालाई सीमा छुट्याएर बग्छ देउनिया खोला । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चारआली र बुट्टाबारीको बीचबाट बग्ने यस खोला परबाट हेर्दा स्वच्छ नै देखिन्छ ।
तर, जब खोला नजिक पुगिन्छ । दुर्गन्धले हिँड्न सकिँदैन । खोलाको दुई किनारमा फोहोरका डंगुर देखिन्छन् । राजमार्ग हुँदै यात्रा गर्ने जो कोहीको बाध्यता नै बनेको छ, खोला नजिक पुगेपछि मास्क लगाउने ।
जिल्लाको विर्तामोड नगरपालिकाले नगर परिसरमा जम्मा भएको फोहोरको डंगुर ट्र्याक्टरमा हालेर निर्बाध रूपमा खोला किनारमा ल्याएर खन्याउँछ । नगरलाई न खोलाको पर्वाह छ, न वातावरणको न वनस्पतिको नै । विर्तामोड सहरबाट निस्किएको फोहोर यसरी खोलामा ल्याएर खन्याउने उपक्रम चलेको एक वर्ष धेरै भइसक्यो । तर, फोहोरको उचित व्यवस्थापनतर्फ कसैको चासो छैन ।
‘नगरले खोला किनारलाई डम्पिङ साइड नै बनाएको छ । ट्र्याक्टरमा फोहोर ल्याएर सिधै फालिन्छ । यहाँ कैयौं बोटविरुवा छन्, खेल मैदान पनि छ,’ एक स्थानीय भन्छन्, ‘खोला त त्यसै दुर्गन्धित भयो । सँगै वातावरणको पनि रत्तिभर पर्वाह गरिएको छैन ।’
विर्तामोडले यसरी फोहोर फालिरहेको स्थान आफैमा विवादित छ । विर्तामोड र मेचीनगर नगरपालिकालाई यस देउनिया खोलाले सीमा छुट्याएको भए पनि यस खोला पूर्वपट्टि पनि विर्तामोड नै दाबी गरिएको छ । जबकी यस खोला पूर्वको भू–गोल मेचीनगर १३ पर्छ ।
यसरी आफैमा विवादित स्थान, त्यो पनि खोलामा । तर, नगरले बेपर्वाह फोहोर फालिरहेको छ । विर्तामोडले एक वर्ष धेरै समयदेखि यहाँ फोहोर फालिरहेको भए पनि उक्त कुरा सरोकारवालाहरुको चासोको विषय बनिरहेको थिएन । तर, जब विर्तामोडले खोलाको पश्चिम किनारमा मात्रै फालिरहेको फाहोरलाई पूर्वी किनारमा समेत फाल्न थाल्यो, तब यहाँ विरोध हुन थाल्यो । किनभने खोलाको पूर्वी किनारलाई यहााका स्थानीयले दशकौंदेखि शवदाह स्थलका रुपमा प्रयोग गरिरहेका थिए ।अर्थात मृत शवलाई टाढा लान नसक्ने चारआली, बुट्टाबारी, कालिस्थान आसपासका परिवारले यही खोला किनारको पूर्वी भागलाई शव डढाउने आर्यघाटका रुपमा प्रयोग गरिरहेका थिए । यहाँ मलामी टहरा पनि बनाइएको छ ।
‘यो देउनिया खोला किनारमा हामी शव डढाउँथ्यौं । कनकाई घाट लान नसक्ने परिवारका लागि यही खोला नै आर्यघाट थियो,’ स्थानीय हरियाली सामुदायिक वनका अध्यक्षसमेत रहेका जगतकुमार राईले भने, ‘तर, यस आर्यघाटलाई व्यवस्थित बनाउनुको सट्टा विर्तामोडले फोहोर फाल्ने ठाउँ पो बनायो ।’
उनका अनुसार फोहोरमा प्लास्टिकजन्य सामाग्री मात्रै होइन, होटल, अस्पताल लगायतबाट निस्किएका संवेदनशील सामग्री पनि भेटिन्छन् । जसलाई नगरले बेपर्वाह खोलामा फालिरहेको छ । राईका अनुसार खोलाको पूर्वी किनार, जहाँ मलामी टहरा छऽ त्यो स्थान हरियाली सामुदायिक वनको हो । सामुदायिक वनले उक्त मलामी टहरा भएको स्थानलाई संरक्षण गरिरहेको पनि थियो । तर, नगर, वडा, वन समिति कसैसँग समन्वय नगरी यहाँ फोहोर फाल्न थालियो । जसमा वन समितिको पूर्ण आपत्ति रहेको राईले बताए ।
राजमार्गकै छेउ, खोला किनार, सामुदायिक वनको जग्गा तथा भूगोल आफैमा विवादित बनेको स्थान । यस्तो संवेदनशील स्थानमा फोहोर फाल्नु पूर्ण गैरकानूनी रहेको बताउँछन् मेची सबडिभिजन प्रमुख वन अधिकृत सुरज निरौला । सामुदायिक वन क्षेत्र परेकाले आर्यघाट भएको स्थान उनको कार्यालय मातहत छ । ‘कुनै वातावरणीय परीक्षण गरिएको छैन । भूगोल विभाजित रहेकाले विर्तामोड नगरपालिकाले मेचीनगर नगरपालिका समेतसँग समन्वय गरेर जग्गाको भोगाधिकार लिनुपर्छ । त्यो पनि छैन,’ निरौला भन्छन्, ‘हामी सामुदायिक वनलाई पत्र काटेर हुन्छ कि । जसरी भए पनि यसरी फोहोर फालिरहेको प्रक्रियालाई रोक्छौं ।’
खोलामा फोहोर फाल्दा पहिला खाल्डो खन्ने अनि फोहोर हालेर पुर्ने काम भइरहेको बताउँछन् मेचीनगर–१३ का अध्यक्ष कृष्णराज सिग्देल । खोलाको पूर्वी किनार जहाँ विर्तामोडले फोहोर फालिरहेको छ, त्यो स्थान मेचीनगर–१३ पर्ने उनको दाबी छ । ‘तर, विर्तामोडले यसरी फोहार फाल्दा हामीसँग र नगरसँग पनि कुनै समन्वय भएन,’ वडाध्यक्ष सिग्देल भन्छन्, ‘यो त खोल मात्रै नभएर सामुदायिक वन भएको क्षेत्र पनि हो । तर, कुनै परीक्षण, वातावरणीय प्रतिवेदन सबैको बेवास्ता गर्दै यहाा फोहोर फयाँक्ने काम भइरहेको छ ।’
उता विर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवा भने देउनिया खोलामा फोहोर फालेको नभई खोलाको बाँध बनाएको बताउँछन् । खोला पश्चिम किनारका जग्गाधनीहरुसँग समन्वय गरी त्यहाँ बाँध बनाउन फोहोर थुपारिएको उनको भनाइ छ । ‘फोहोर फ्याँकेको होइन । खोला किनारमा रहेको जग्गामा खोला नपसोस् भनेर बाँध बनाउन फोहोर थुपारिएको हो,’ उनी भन्छन्, ‘पहिला खाल्डो खन्ने अनि खाल्डोमा फोहोर हालेर पुर्ने गरिन्छ त्यहाँ । त्यो तटबन्धका लागि हो ।’
वातावरणको कुनै पर्वाह नगरी त्यो पनि खोला किनारमा यसरी फोहोर फाल्न मिल्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यो त जग्गाधनीसँग सहमति गरेर नै फालिएको हो । नगरबाट उत्पन्न हुने फोहोरको उचित व्यवस्थापनका लागि पनि नगरमा छलफल भइरहेको छ । जग्गा खोज्ने क्रम जारी छ ।’
