स्वास्थ्य कार्यालय र नगरपालिकाको संयुक्त प्रयासमा लामखुट्टे प्रजनन रोक्न घर वरपरका सम्भावित स्थानहरू सफा गरियो।
What you should know
संखुवासभा — डेंगु रोगको बढ्दो जोखिमलाई ध्यानमा राख्दै संखुवासभामा लामखुट्टे नियन्त्रणका लागि व्यापक खोज तथा नष्ट गर्ने सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
‘लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँ र भाँडाहरू सफा गरौं, लामखुट्टेको फुल नष्ट गरौं’ भन्ने मूल नारासहित बिहीबार खाँदबारीमा विशेष अभियान चलाइएको हो ।
स्वास्थ्य कार्यालय संखुवासभा र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा ग्यारेजभित्र टायरमा जमेको पानी, खुला क्षेत्रमा रहेका भाँडाकुँडा, फोहरमैला, फूलदान, पानी ट्याङ्की, कुचो राख्ने ठाउँ, च्याउबारी तथा झाडीभित्र लामखुट्टे प्रजनन गर्न सक्ने सबै सम्भावित स्थानलाई खोजी सफा गरिएको थियो ।
लामखुट्टेको अण्डा र लार्भा नष्ट गरिनुका साथै स्थानीयवासीलाई आफ्नो घर वरपर सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ । अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, स्थानीय क्लब तथा सामाजिक संस्थाका प्रतिनिधिहरू सक्रिय रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा सहभागी टोलीले सरसफाइसँगै झाडी फाड्ने, फोहर व्यवस्थापन गर्ने र पानी जम्ने सम्भावित भाँडाहरू पल्टाएर सुकाउने कार्य पनि गरेका थिए ।
जिल्ला समन्वय समिति(जिसस)का प्रमुख सुमन शाक्यले डेंगु हिमाली जिल्ला सङ्खुवासभासम्म फैलिएकोमा चिन्ता व्यक्त गर्दै सरसफाइलाई निरन्तर प्राथमिकतामा राख्नुपर्ने बताए । ‘डेंगु नियन्त्रणमा सरकारले मात्रै होइन, प्रत्येक नागरिकको सचेतता र सक्रियता अत्यावश्यक छ,’ उनले भने, ‘घर आँगन वरिपरि पानी जम्न नदिने हो भने लामखुट्टे प्रजनन रोक्न सकिन्छ।’
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रोशन श्रेष्ठका अनुसार गत साउन र भदौ महिनामात्रै सङ्खुवासभामा ७८ जनामा डेंगु सङ्क्रमण देखिएको छ । लगातार बिरामी बढ्दै गएपछि जिल्ला स्वास्थ्य, खाँदबारी नगरपालिकाले समुदायस्तरमा सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको उनले बताए ।
‘एडीस एजिप्टी नामक लामखुट्टे प्रायः बिहान र बेलुकी टोक्ने गर्छ,’ उनले भने, ‘यसले सफा पानीमा अण्डा दिने भएकाले घर वरिपरि जम्ने पानी सबैभन्दा ठूलो जोखिमको कारण हुन्छ । स–साना भाँडादेखि टायर, गमला, ट्याङ्की, फूलदान वा खुला ढकनी नभएका भाँडामा समेत लामखुट्टे सजिलै प्रजनन गर्ने भएकाले नियमित सफाइ गर्नुपर्नेमा जोड दिइएको छ ।’
कार्यक्रमका क्रममा विद्यार्थी र स्थानीय क्लबका स्वयंसेवकले समुदायलाई डेंगुका लक्षण, रोकथामका उपाय र सचेतनासम्बन्धी सन्देशसहित पर्चा वितरण गरेका थिए । साथै, सरसफाइलाई निरन्तर अभियानको रूपमा अघि बढाउन सबैलाई अपील गरिएको थियो ।
