ताप्लेजुङ घर भएकी दाहाल कनकाई–३ सुरुंगामा ध्रुव श्रेष्ठको तीनतले पक्की घरको दोस्रो तलामा डेरा लिएर एक्लै बस्दै आएकी थिइन् ।
विराटनगर — झापाको कनकाई नगरपालिका–३ सुरुंगामा ग्यास सिलिन्डर लिकेजका कारण आगलागी भई गम्भीर घाइते भएकी ८१ वर्षीया बाटुली माया दाहालको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ ।
ताप्लेजुङ घर भएकी दाहाल कनकाई–३ सुरुंगामा ध्रुव श्रेष्ठको तीनतले पक्की घरको दोस्रो तलामा डेरा लिएर एक्लै बस्दै आएकी थिइन् । गत साउन २२ गते बिहान करिब ७:१५ बजे खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिकेज हुँदा अचानक आगलागी भएको थियो । घटनापछि गम्भीर रूपमा जलेकी दाहाललाई तत्काल कनकाई नगर अस्पताल सुरुंगामा पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएकी उनलाई अवस्था जटिल भएपछि किर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको थियो ।
लगातार उपचारपछि पनि स्वास्थ्यमा सुधार नभएपछि मंगलबार अस्पतालबाट घर ल्याइएकी दाहालको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ । सो आगलागीबाट करिब दुई लाख रुपैयाँ बराबरको आर्थिक क्षति समेत भएको प्रहरीले जनाएको छ ।
