हेंवा र पुवा खोलामा पुल उद्घाटन

भारतीय राजदूतले भने, ‘हामी नेपालका असल छिमेकी हौं’ 

भाद्र ४, २०८२

लक्ष्मी गौतम

Inauguration of bridge over Henwa and Puwa rivers

What you should know

पाँचथर — मेची राजमार्गअन्तर्गत पाँचथर खण्डको हेंवा खोलामा निर्मित मोड्युलर ब्रिज उद्घाटन गरिएको छ । दुवै पुल संघीय सरकारअन्तर्गत सडक डिभिजन इलामले निर्माण गरेको उक्त पुल भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बुधबार संयुक्त रुपमा गरे ।

पुल उद्घाटन गर्दै मन्त्री दाहालले बाढी र पहिरोले पुलपुलेसा बगाउँदा समग्र मुलुकको विकास प्रक्रियामा धक्का लागेको बताए । बाढी पहिरोपीडित र प्रभावितको पुनः स्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री दाहालले बाढीले क्षतिग्रस्त बनाएका खोला नालामा जडान गर्न भारतले दसवटा पुल उपलब्ध गराएको भन्दै भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत भारत सरकारलाई धन्यवाद दिए ।

‘छिमेकीलाई सारो गारो पर्दा सहयोग दिने पहिलो पक्ष छिमेकी नै हो, भारत सरकारले बाढी प्रभावित क्षेत्रका लागि यत्तिका पुल उपलब्ध गराएर असल छिमेकीको परिचयलाई निरन्तरता दिएको छ,’ मन्त्री दाहालको भनाइ थियो ।

यस्तै भारतीय राजदूत श्रीवास्तवले विपदमा परेको छिमेकीको हात समातेर उठाउने दायित्व छिमेकीकै रहेकाले नेपाल सरकारको अनुरोधलाई स्विकार्दै ५० करोड बराबरका १० वटा पुल उपलब्ध गराएको बताए । ‘भारतले नेपालको समृद्धि र विकासको सपना साकार पार्न सघाउँदै आएको छ, हेंवा खोलामा जडान भएको मोड्युरलर ब्रिज जस्को उदाहरण हो,’ उनले भने ।

हेंवामा आएको विपदपछि भारत सरकारले यहाँ पुलसँगै जडान गर्ने प्राविधिकसमेत उपलब्ध गराएको उनको भनाइ थियो । असल छिमेकी भएका नाताले नेपालको विकास प्रक्रियालाई निरन्तरता दिन सघाउने उनको प्रतिबद्धता थियो ।

२०८० सालयता बाढी पहिरो र विपदजन्य घटनाले समस्या भोगिरहेको हेंवा खोलाका लागि मोड्युल ब्रिज भारत सरकारले निःशुल्क उपलब्ध गराएको हो ।

सडक डिभिजन इलामको निगरानीमा भारतबाट आएका श्रमिकले ७० मिटर लामो उक्त मोडुलर ब्रिज ११ दिनमा जडान गरेका थिए । यो मोडुलर ब्रिजलाई हालसम्म जेपालमा जडान भएमध्ये सबैभन्दा लामो र उच्चत्तम् प्रविधिको भनिएको छ ।

पुल जडान र संरचना निर्माणका लागि दोभान सुपर सौगात लाइट बिल्डर्सले ३ करोड ५० लाखमा ठेक्का लिएको थियो ।

हेंवा खोलाको पक्की पुल २०८० असार २ को बाढीले बगाएको थियो । त्यसपछि संघीय सरकारले २९ दिन लगाएर बेलिब्रिज बनाएकोमा सो पनि २०८१ असोज १२ गते बाढीले बगाएपछि दोस्रो पटक जोडिँदै गरेको मोडुलर ब्रिज गत जेठ ३१ गते जोडिसक्न लाग्दा भाँचिएको थियो । त्यसक्रममा ३ जना श्रमिकको निधन हुनका साथै ३ जना घाइते भएका थिए । 

बाढीले पुल बगाएपछि हेंवा खोला क्षेत्रको यातायात अस्तव्यस्त थियो । पानी नपर्दा डाइभर्सनबाट गाडी आउजाउ गरे पनि बाढी आउनासाथ अवरुद्ध हाँक्दा यात्रुले कष्ट व्यहोर्नु परेको थियो । उद्घाटन गरिएसँगै पुलबाट सवारी आवागमन खुला गरिएको छ । यो सँगै तीन वर्षयता खेप्दै आएको सास्ती हटेको स्थानीयको प्रतिक्रिया छ ।

यस्तै इलामस्थित केचना–कञ्चनजंगा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा निर्माण गरिएको अर्को बेलिब्रिज पनि बुधबार नै उद्घाटन गरिएको छ । सो बेलिब्रिजसमेत भारत सरकारले उपलब्ध गराएको हो ।

संघीय सरकारको एक करोड ४७ लाख १७ हजार २ सय २७ रुपैयाँ लागतमा उक्त पुल जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ । 

पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पका रुपमा केचना–कञ्चनजंगा सडक विकसित भएको हो ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully