डीआईजी कार्कीले सुरक्षा व्यवस्थासँगै लागुऔषध दुरुपयोग र विदेशी नागरिकको निगरानीबारे सरोकारवालासँग छलफल गरेका छन् ।
What you should know
संखुवासभा — कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले संखुवासभा जिल्लाको सुरक्षा अवस्था, पूर्वाधार र पर्यटन सम्भावनाबारे चासो देखाएका छन् ।
मंगलबार खाँदबारी आइपुगेका डीआईजी कार्कीले जिल्लामा सुरक्षा व्यवस्थासँगै सामाजिक अपराध नियन्त्रण, लागुऔषध दुरुपयोग र विदेशी नागरिकको निगरानीबारे सरोकारवालासँग छलफल गरेका हुन् ।
कार्कीले प्रहरी संगठनमा पछिल्ला वर्षमा दरबन्दी, पूर्वाधार र प्रविधि क्षेत्रमा उल्लेख्य सुधार भएको दाबी गर्दै सुरक्षित समाज निर्माणमा प्रहरी मात्र नभई सबै तहको सहभागिता आवश्यक रहेको बताए । 'प्रहरीलाई सबैको सहयोग जरुरी छ,' उनले भने, 'समाजलाई अप्ठेरो नपर्ने गरी होटल रातभरि सञ्चालन गर्दा समस्या छैन, तर गुनासो आउने वा झैझगडा भए कानुनी कारबाही हुन्छ ।'
उनले संखुवासभा पर्यटनका दृष्टिले निकै सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै यहाँका सडक, नाका र भौगोलिक अवस्थाले सुरक्षालाई अझ संवेदनशील बनाएको बताए । किमाथांका-खाँदबारी सडक खण्ड र किमाथांका नाकाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिँदै उनले त्यहाँको सुरक्षा चासोबारे सरोकारवालासँग छलफल गरेका थिए । विकट भौगोलिक स्थिति, सञ्चार सेवाको अभाव र ठूला आयोजनाको उपस्थितिले जिल्लालाई थप संवेदनशील बनाएको उनले स्पष्ट पारे ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले संखुवासभामा अरुण तेस्रोलगायत ठूलासाना जलविद्युत् आयोजना सञ्चालनमा रहेकाले सुरक्षाप्रति सतर्क रहनुपर्नेमा जोड दिए । 'विदेशी नागरिकको निगरानी, लागुऔषध नियन्त्रण र घरेलु हिंसा नियन्त्रणतर्फ विशेष ध्यान दिन जरुरी छ,' उनले भने, 'प्रहरीको जाँचलाई नागरिकले झन्झट नभई सुरक्षाकै हिस्सा मान्नुपर्छ ।'
सहरी क्षेत्र विस्तारसँगै लागुऔषध प्रयोगकर्ता बढ्दो क्रममा रहेको भन्दै स्थानीय सरोकारवालाले यसको न्यूनीकरणका लागि कडा कदम चाल्न माग गरेका थिए । यस्तै, जबरजस्ती करणीजस्ता संवेदनशील अपराधका घटना बढेकाले प्रहरीसँगै समुदायले पनि जनचेतनामूलक गतिविधि अघि बढाउनुपर्नेमा सहभागीहरुले जोड दिए । जिल्लामा सीसी क्यामरा विस्तार गर्नुपर्ने माग पनि उठाइएको थियो ।
