कोशी प्रदेशले राजस्व संकलनमा नयाँ कार्यालय खोलेको छ, जसले जनताको कर बोझ बिना आर्थिक वृद्धि सुनिश्चित गर्नेछ।
सुनसरी — कोशी प्रदेश सरकारले इटहरीमा प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ । कोशी प्रदेशमै पहिलो पटक सञ्चालनमा ल्याइएको प्रदेशस्तरीय कार्यालयको सोमबार आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले उद्घाटन गरेका छन् ।
प्रदेशको राजस्व संकलनमा सहजीकरण गर्ने उद्देश्यले कार्यालय खोलिएको हो । प्रदेशको क्षेत्राधिकारभित्र पर्ने विषयमा आवश्यक सहजीकरण गर्न र प्रदेशको राजस्वलाई वृद्धि गर्न सोमबारदेखि कार्यालय सञ्चालनमा ल्याइएको मन्त्री राना मगरले जानकारी दिए ।
कार्यालयको उद्घाटन गर्दै मन्त्री रानाले प्रदेश सरकारले सोचेअनुसार राजस्व संकलन गर्न नसकिरहेको परिप्रेक्ष्यमा कार्यालय उद्घाटन गरिएको बताए । उनले जनतालाई करको बोझ नहुने गरी राजस्व वृद्धि गर्न कार्यालय सञ्चालनमा ल्याइएको स्पष्ट पारे ।
कोशी प्रदेश सरकारले गत आर्थिक वर्षमा ४ अर्ब ९८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९८% सफलता हासिल गरेको थियो । चालु आवमा कोशी प्रदेश सरकारले ५ अर्ब ५० करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।
कार्यालय उद्घाटन समारोहमा कोसी प्रदेशसभाका सदस्य रमेश बस्नेत, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदीलगायतले कार्यालयबाट चुस्त दुरुस्त सेवा प्रवाह हुने विश्वास व्यक्त गरे ।
