जिल्ला सदरमुकामदेखि अन्य स्थानीय तहमा पनि लामखुट्टे नियन्त्रण अभियान चलाउने निर्णय, जनप्रतिनिधिहरूको सक्रिय सहभागिता।
खोटाङ — जिल्लामा डेंगीको प्रकोप पढेपछि लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनामा डेंगीबाट १२ जना थलिएपछि अभियान सञ्चालन गरिएको हो ।
यसअन्तर्गत सोमबार बिहान दिक्तेलमा लामखुट्टेको लार्भा खोजेर नष्ट गरिएको छ । हस्पिटल चोकबाट सुरु भएको अभियान अल्छेढुङ्गा हुँदै किरात चोक आसपासका ग्यारेज क्षेत्र हुँदै दिक्तेल बजारबाट हाटडाँडा पुगेर समापन गरिएको हो ।
लार्भा नष्ट गर्ने अभियानमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, वाणिज्य संघ, होटल व्ववसायी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।
आइतबार भएको डेंगी रोगसम्बन्धी सरोकारवालाहरूसँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा जिल्लाभर डेंगी रोग नियन्त्रणका लागि लामखुट्टे फैलन नदिने निर्णयपछि अभियान सुरु गरिएको जिल्ला अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताएका छन् ।
‘हिजोको निर्णय अनुसार आजदेखि अभियान सुरु गरिएको हो’ राईले भने, ‘जिल्ला सदरमुकाममा मात्र होइन जिल्लाका सबै स्थानीय तहहरूमा यो अभियान सञ्चालन हुन्छ ।’
