बेलका अस्पतालका चिकित्सकमाथि कुटपिट

आमाको जलनको उपचारमा लापरबाही भएको भन्दै छोराले चिकित्सकमाथि आक्रमण गरेपछि अस्पतालले दोषीमाथि कारबाहीको माग गरेको छ।

भाद्र २, २०८२

राकेश नेपाली

Bell's hospital doctor beaten

उदयपुर — नगर अस्पताल बेल्टारका चिकित्सकमाथि आक्रमण भएको छ । शनिबार राति बेलका नगरपालिका–९ का वीरेन्द्र राईले अस्पतालमा कार्यरत ‘हेल्थ असिस्टेन्ट’ शिवशंकर शाहमाथि आक्रमण गरेका हुन् । 

आमा महिलाकुमारी राई जलनको समस्या लिएर शनिबार बेलुका अस्पताल भर्ना भएको र चिकित्सकले उपचारमा लापरबाही गरेको भन्दै छोरा वीरेन्द्रले चिकित्सकमाथि आक्रमण गरेका हुन् । 

घटनाको विषयमा अस्पतालले आइतबार एक विज्ञप्ति जारी गर्दै राईले चिकित्सकमाथि हातपात, गाली गलौज र अस्पतालका भौतिक संरचना तोडफोड गरेको जनाएको छ ।

ईमरजेन्सी वार्डमा उपचार भइरहेको समयमा बिरामीका छोराले उपचारमा खटिएका चिकित्सकमाथि कैँची, ढुङ्गालगायत अस्पताल भित्र रहेका विभिन्न औजार प्रयोग गरी अन्धाधुन्ध आक्रमण गरेकाले उनलाई कारबाही गर्न सम्बन्धित निकायलाई अस्पतालले अनुरोध गरेको छ । 

दोषी उपर कारबाही नभएसम्म अस्पतालका सबै सेवा बन्द गर्ने अस्पतालले चेतावनी दिएको छ ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully