खोटाङमा बढ्दै डेंगी संक्रमण

साउनमा मात्र १२ जनामा डेंगी पुष्टि भएको छ ।

भाद्र १, २०८२

डम्बरसिं राई

Dengue infection on the rise in Khotang

काठमाडौँ — खोटाङमा डेंगीको संक्रमण पढेको छ । पछिल्लो एक महिनाको अवधिमा १२ जनामा डेंगी पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चम्लागाईका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्र १२ जनामा डेंगी फेला परेको छ । त्यसमध्ये दुई जनालाई जिल्ला अस्पताल खोटाङले काठमाडौं रेफर गरेको चम्लागाईको भनाइ छ । 

२०८१/८२ मा ४९ र २०८०/८१ मा ९५ जनामा डेंगी देखिएकामा चालु आर्थिक वर्ष भने एकै महिनामा १२ जनामा डेंगी फेला परेकाले जोखिम बढी देखिएको चम्लागाईले बताए ।

यसैबीच आइतबार डेंगी रोगसम्वन्धी सरोकारवालासँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा डेंगी नियन्त्रण गर्न बजार तथा विभिन्न स्थानीय तहरूमा लामखुट्टेको लार्भा नष्ट गर्नुका साथै जनचेतनाका लागि अभियान सञ्चालन गर्ने निर्णय गरिएको चम्लागाईले बताए । यसअन्तर्गत भदौ २ गते दिक्तेल बजारमा लामखुट्टेको लार्भा नष्ट गरिने उनको भनाइ छ ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully