एक महिना ढिला गरी पारित भयो इटहरी उपमहानगरको बजेट

उपमहानगरपालिकाका उपप्रमुख सङ्गीताकुमारी चौधरीले गत असार १० गते पेस गरेको बजेट शनिबार सम्पन्न १६ औँ नगर सभाले पारित गरेको हो।

श्रावण ३१, २०८२

अर्जुन सुवेदी

Itahari sub-metropolitan budget was passed one month late

सुनसरी — समयमै बजेट ल्याउन नसकेर आलोचना खेप्दै आएको इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट पारित गरेको छ।

उपमहानगरपालिकाका उपप्रमुख सङ्गीताकुमारी चौधरीले गत असार १० गते पेस गरेको बजेट शनिबार सम्पन्न १६ औँ नगर सभाले पारित गरेको हो।

चालु आर्थिक वर्षका लागि चालु खर्चतर्फ एक अर्ब चार करोड ११ लाख १० हजार अर्थात् कुल बजेटको ४०.७९ प्रतिशत, वित्तीय व्यवस्थापन अन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख अर्थात् कुल बजेटको ०.३५ प्रतिशत र पूँजीगत खर्च एक अर्ब ५० करोड १९ लाख ९० हजार अर्थात् कुल बजेटको ५८.८६ प्रतिशत छुट्याइएको घोषणा गरिएको छ।

बजेटले चालु आर्थिक वर्ष स्थानीय जनताको माग बमोजिम भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उपप्रमुख चौधरीले जानकारी दिइन् । जसमा संघीय सरकार र प्रदेश सरकारसँग आवश्यक समन्वय गरी इटहरी उपमहानगरपालिकाको बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।

बजेटमा इटहरीलाई सुन्दर सहर बनाउन सौन्दर्यीकरणका लागि सडक निर्माणसँगै सडक क्षेत्राधिकार भित्र पर्ने आवश्यक स्थानमा रोड फर्निचर लगाउने, पैदलयात्रीको सहजताका लागि कोसी राजमार्गमा दुई वटा आकासे पुल निर्माण गर्न बजेट छुट्याइएको छ ।

अर्जुन सुवेदी

Link copied successfully