सुनसरी अदालतले खत्रीलाई बलात्कारको अभियोगमा १३ वर्ष कैद, ५ लाख जरिवाना र ३० हजार क्षतिपूर्ति सजाय सुनाएको छ।
सुनसरी — सुनसरीको झुम्का कारागारबाट फरार भएका कैदी झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । साउन २८ गते बिहान कारागारको बी ब्लकबाट जबरजस्ती करणी मुद्दाका कैदी बन्दी रूपक पौडेल खत्री फरार भएका थिए ।
उनलाई शनिबार बिहान झापाको बिर्तामोड नगरपालिका १० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याउने तयारी भइरहेको खतिवडाले जानकारी दिए । खोटाङ दिप्रङ चुईचम्पा गाउँपालिका २ का खत्री सामूहिक बलात्कारको घटनामा अदालतले पुर्पक्षका लागि २०८२ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको थियो ।
मुद्दाको किनारा लगाउँदा जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते खत्रीलाई १३ वर्ष कैद ५ लाख जरिवाना र ३० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय हुने फैसला गरेको थियो । घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
