जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

खोटाङको जिल्ला प्रहरी कार्यालयले बलात्कार अभियोगमा पुरुषलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। पीडितको स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ।

श्रावण ३१, २०८२

डम्बरसिं राई

A man was arrested on charges of rape

खोटाङ — ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित आम्बोटेका एक जना ३७ वर्षीय पुरुष पक्राउ परेका छन् । 

आफ्नै घरमा सुतिरहेकी महिलालाई बिहीबार राति सवा दुई बजेतिर जबरजस्ती करणी गरेको आरोपमा ती पुरुषलाई शुक्रबार पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार राई थरका ती पुरुषलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । 

मादक पदार्थ सेवन गरी राईले महिलामाथि जबरजस्ती करणी गरेपछि स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर पीडित पक्षले प्रहरीलाई खबर गरेका थिए । 

पीडित महिलाको साउन ३० गते स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully