साबिर मियाँ र विकास राईलाई नाबालिगमाथि जबरजस्ती करणी आरोपमा संखुवासभा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठायो।
संखुवासभा — छुट्टाछुट्टै घटनामा नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकृत प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा सुनसरी इनरुवा नगरपालिका–१०, जालपापुरका २२ वर्षीय साबिर मियाँ र संखुवासभा सिलिचोङ गाउँपालिका–३ का २५ वर्षीय विकास राई रहेका छन्।
प्रहरीका अनुसार साबिर मियाँले गत असार २६ गतेदेखि हराइबेपत्ता भएकी सिन्धुलीमाडीकी १६ वर्षीया किशोरीलाई ललाइफकाई विभिन्न बहाना बनाई पानमा नसालु पदार्थ मिसाएर खुवाएर अचेत अवस्थामा करणी गरेको आरोप छ।
पीडित पक्षको जाहेरीका आधारमा उनलाई साउन २ गते पक्राउ गरिएको थियो । त्यस्तै, विकास राईले गत साउन २ गते संखुवासभाकी १३ वर्षीया बालिकालाई धाकधम्की दिई जबरजस्ती करणी गरेको आरोप छ। पीडित पक्षको उजुरीका आधारमा साउन ४ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानपछि दुवैलाई संखुवासभा जिल्ला अदालत चैनपुरमा पेस गरिएको थियो। अदालतको साउन २८ गतेको आदेशपछि उनीहरूलाई पुर्पक्षका लागि जिल्ला कारागार कार्यालय खाँदबारी पठाइएको प्रहरीले जनाएको छ।
