घटनाको विषयमा सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गरे पनि मेयर लामाले चासो नदिएपछि कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेका छन् ।
What you should know
उदयपुर — नगरपालिकाकै संरक्षणमा उदयपुरमा नदीजन्य पदार्थको अवैध उत्खनन भएको पाइएको छ । चुरे संरक्षण क्षेत्रभित्र पर्ने चौदण्डीगढी नगरपालिका–४ कालिखोलाबाट अवैध रुपमा गिट्टी, बालुवा र माटो उत्खनन भएको हो ।
‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन कार्यविधि’ अनुसार जेठ ३१ देखि असोज १ सम्म नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने भए पनि नगरपालिकाकै संरक्षणमा राष्ट्रिय गौरवका आयोजनाको नाममा अवैध उत्खनन भइरहेको हो ।
चौदण्डीगढी–७ स्थित सीताराम कन्स्ट्रक्सन प्रालिले कञ्चनपुर–कमला पूर्वी खण्ड सडक निर्माण गरिरहेको चाइना रेलवे नं. २ इन्जिनियरिङ कम्पनी लिमिटेडका लागी गिट्टी, बालुवा र माटो उत्खनन गरी पठाउने गरेको सीताराम कन्स्ट्रक्सनका सञ्चालक तेजनारायण शाहले बताए । चौदण्डीगढी नगरपालिका–४ स्थित केशवबहादुर भुजेलको निजी जग्गाबाट माटो उत्खनन गरिएको भनिए पनि ऐलानी जग्गाबाट उत्खनन गरिएको स्थानीयले बताएका छन् ।
कोशी प्रदेश सरकारको आर्थिक ऐन २०८१ को अनुसूची ११ अनुसार नदीजन्य पदार्थ उत्खननमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको अवधिमा संवेदनशील क्षेत्रबाट ६ हजार घनमिटर माटो निकाल्ने गरी साउन ४ गतेबाट ३ वटा एक्स्काभेटर र १७ वटा टिपर प्रयोग गरी उत्खनन गरेको पाइएको छ ।
ऐन अनुसार यस अवधिमा सरकारी, ऐलानी र निजी कुनै पनि जग्गाबाट नदीजन्य पदार्थ उत्खनन गर्न पाइँदैन । तर, सीताराम कन्स्ट्रक्सनका सञ्चालक तेजनारायण शाहले आफूले सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) बाट असार ८ गते प्राप्त भएको पत्र र चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको अनुमतिका आधारमा माटो उत्खनन गरेको दाबी गरेका छन् । उनका अनुसार चौदण्डीगढी–४ कालिखोलास्थित ३८ कठ्ठा जग्गामध्ये हाल १५ कठ्ठा क्षेत्रबाट प्रारम्भिक वातावरणीय अध्ययन (आईई) गरेर ६ हजार घनमिटर माटो उत्खनन गरिएको छ ।
प्रदेश सरकारको आर्थिक ऐन २०८१ को अनुसूची ११ मा नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध लगाइएको अवधिमा कसैले उत्खनन गरेमा पहिलोपटक प्रति ट्र्याक्टर २५ हजार र प्रतिटिपर एक लाखसम्म जरिवाना हुने व्यवस्था छ । तर चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाकै संरक्षणमा नम्बरी जग्गाको पुर्जा देखाएर ऐलानी जग्गामा अवैध रुपमा उत्खनन भएको नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य शम्भु पौडेलले बताए । ‘मेयरको आफ्नै कान्छा भाइ विपिन तामाङ, सीताराम कन्स्ट्रक्सनका सञ्चालक शाह, वडा नं. ४ का वडाध्यक्ष लुगांराज राई, फत्तेपुरका निर्माण व्यवसायी अमर खवास र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको मिलेमतोमा अवैधानिक रुपमा उत्खनन भएको छ,’ उनले भने ‘घटनाको विषयमा छानबिन समिति बनाएर संलग्न जो कोही भए पनि कारबाही गर्न अनुरोध गरेका छौं ।’
भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय, सडक विभागअर्न्तगत आयोजना निर्देशनालय (एडीबी) ले गत असार ०८ गते नगरपालिकालाई पत्र लेख्दै योजना निमार्णका लागि ‘सब–बेस मेटिरियल्स’ उपलब्ध गराइदिन माग गरेकामा स्थानीय ठेकेदार कम्पनी सीताराम कन्ट्रक्सनले जेठ ३० गते नै राष्ट्रिय बाणिज्य बैंकअन्तर्गत नगरपालिकाको राजस्व बाँडफाँट (खाता नं. २३७०१००३०६०१०००२) खातामा दुई लाख ८२ हजार चार सय ८० रुपैयाँ जम्मा गरेको पाइएको छ । निर्देशनालय कार्यालयले नदीजन्य पदार्थ उपलब्ध गराउन अनुरोध गर्नु पहिला नै स्थानीय ठेकेदार कम्पनीले नगरपालिकालाई राजस्व बुझाउनुमा अनियमितताको संकेत देखिएको सरोकारवालाले बताएका छन् ।

गैरकानुनी रुपमा नदीजन्य पदार्थको उत्खनन सुरु भएपछि स्थानीयले चर्को विरोध जनाएका थिए । सोही समयमा घटनाबाट पन्छिन मेयर लामा पारिवारिक भ्रमण भन्दै चीन प्रस्थान गरेका थिए । विवादले उग्र रुप लिएपछि उनी बुधबार नगरपालिका आइपुगेका छन् । स्थानीयहरुले उत्खननका विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई जानकारी गराएपछि बिहीबार इलाका प्रहरी कार्यालय, बेल्टारले उत्खनन क्षेत्रबाट १७ वटा टिपर नियन्त्रणमा लिएर शसस्त्र क्याम्प सातधारेमा राखेको छ ।
नियन्त्रणमा लिइएका टिपरलाई कानुनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल र जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्माले बताए । मेयर लामाले भने कुनै प्रतिक्रिया दिन मानेनन् । उपमेयर मणिकादेवी दुलालले भने नगरपालिकालाई जानकारी नदिई उत्खनन भएको बताइन् ।
घटनाको चौतर्फी आलोचना
घटनाका विषयमा चौदण्डीगढी नगरपालिकामा क्रियाशील राजनीतिक दल कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एस र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अवैध उत्खननमा संलग्न सबैलाई कारबाही गर्न माग गरेका छन् । जनप्रतिनिधिले आफ्नो स्रोत, शक्ति र अधिकारको दुरुपयोग गर्दै आन्तरिक मिलेमतोमा कानुनविपरीत काम गरेकाले कडा कारबाही गर्न सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ ।
कार्यपालिका बैठक बहिष्कार
यही विषयमा छलफल गर्न बिहीबार दिउँसो बोलाएएको नगर कार्यपालिकाको बैठक वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन् । वडा नं. ७ का अध्यक्ष केशव अधिकारी, कार्यापालिका सदस्य तिलावती राई र उदयराज भुजेलले बैठक बहिष्कार गरेका हुन् ।
घटनाको विषयमा सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न आफूहरुले बैठकमा माग गरे पनि मेयर लामाले चासो नदिएकाले बैठक बहिष्कार गरेर बाहिर निस्किएको वडाध्यक्ष अधिकारीले बताए । ‘हाम्रो माग नदीजन्य पदार्थको उत्खनननका विषयमा सत्यतथ्य छानबिन गरौं भन्ने थियो तर मेयरसाबले घटनालाई अतिरञ्जित नगर्न र नगरको नेतृत्वविरुद्ध नबोल्न दबाब दिनुभयो,’ उनले भने, ‘हामीले मेयरसाबको गलत कामलाई आँखा चिम्लिनु भन्ने आग्रह स्वीकार्न सकेनौं र बैठक बहिष्कार गरेर बाहिर निस्कियौं ।’
वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेपछि मेयर लामाले विवादित छविका वडाध्यक्ष तथा नगरप्रवक्ता प्रकाश राउत, अवैध उत्खननमा संलग्न रहेको आरोप लागेका वडा नं. ४ का वडाध्यक्ष लुंगाराज राई र इन्जिनियर पंकज राई गरी ३ जनाको छानबिन समिति बनाएका छन् । वडाध्यक्ष राउत स्थानीय सुनिता श्रेष्ठ, कांग्रेसका नगर सचिव राकेश चौधरीलाई हातपात र दुर्व्यवहार गरेको आरोपमा पक्राउसमेत परेका थिए । यस्तै पत्रकार राजेन्द्र दुष्टलाई दुर्व्यवहार गरेको विषयले पनि उनी विवादित भएका थिए ।
