अपांगता भएकालाई बैसाखी र ह्विलचेयर

वडाका सात जना अपाङ्गता भएका नागरिकलाई छडी, श्रवणयन्त्र, बैसाखी र ह्विलचेयर वितरण गरिएको हो ।

श्रावण ३०, २०८२

डम्बरसिं राई

Crutches and wheelchairs for the disabled

खोटाङ — साकेला गाउँपालिका–३ खिदिमास्थित अपाङ्गता भएका व्यक्तिलाई सामग्री वितरण गरिएको छ । उक्त वडाका अपाङ्गता भएकाहरूलाई बैसाखी, हृवीलचेयर, छडी लगायतका सामग्री बिहीबार वितरण गरिएको हो ।

गाउँपालिकाका सामाजिक विकास शाखाका डीएम चाम्लिङका अनुसार वडाका सात जना अपाङ्गता भएका नागरिकलाई छडी, श्रवणयन्त्र, हिँडडुलमा प्रयोग हुने कुइनो बैसाखी र ह्विलचेयर वितरण गरिएको हो । सामग्री गाउँपालिका अध्यक्ष रविप्रकाश राईले वितरण गरेका हुन् ।

त्यस्तै उक्त वडामा गठित अपाङ्गता भएका व्यक्तिहरूको संस्था मिलिजुली समूहलाई अध्यक्ष राईले आफूले पाउने भत्ताबाट १५ हजार नगद हस्तान्तरण समेत गरेका छन् । ‘खिदिमाका अपाङ्गता भएका व्यक्तिहरू आबद्ध मिलिजुली समूहले प्रतिव्यक्ति ५० रूपैयाँका दरले संकलन गरेर संस्था सञ्चालन गरिरहनुभएको थियो,’ राईले भने, ‘त्यसमा मेरोतर्फबाट पनि सानो सहयोगस्वरूप मैले पाउने सेवा सुविधाबाट १५ हजार सहयोग गरेको छु ।’

उक्त पालिकामा २०८० माघ १ गतेदेखि कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय तह र करुणा फाउन्डेसनको त्रिपक्षीय लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

साकेला गाउँपालिकामा उक्त कार्यक्रम २०८३ पुस मसान्तसम्म सञ्चालन हुनेछ । त्यसपछि गाउँपालिका आफैले कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष राईले बताए । उक्त गाउँपालिकामा ३२५ जना अपाङ्गता भएका व्यक्ति छन् । 

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully