कांग्रेसको भागका चारै मन्त्रालयका सचिवको सरुवा

पर्यटन वर्ष उद्घाटन समारोहमा अनियमितता र निकट व्यक्तिलाई मात्रै जिम्मेवारी दिएर कमिसन लिएको आरोपपछि घिमिरे विवादमा आएका थिए ।

श्रावण २९, २०८२

कान्तिपुर संवाददाता

Transfer of Secretaries of all four Ministries under Congress

What you should know

विराटनगर — कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको भागमा रहेका चारै मन्त्रालयका सचिवको एकैपटक सरुवा गरिएको छ । प्रदेशको पर्यटन वर्ष कार्यक्रम विवादमा परेका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेसहित भौतिक पूर्वाधार विकास, उद्योग–कृषि तथा सहकारी र स्वास्थ्य मन्त्रालयका सचिवको पनि संघीयतर्फ सरुवा भएको हो ।

पर्यटन वर्ष उद्घाटन समारोहमा अनियमितता र निकट व्यक्तिलाई मात्रै जिम्मेवारी दिएर कमिसन लिएको आरोपपछि घिमिरे विवादमा आएका थिए । तेह्रथुममा आयोजित उद्घाटनमा प्रयोग भएका होटलबाट खाली बिल ल्याएको, असार मसान्तसम्म भुक्तानी नगरेको र पछि व्यक्तिगत खाताबाट २ लाख ७६ हजार रुपैयाँ होटललाई बुझाएको विषय संसद्‍सम्म पुगेको थियो । सांसदहरूले यो रकम प्रदेश सरकारलाई दिएको चन्दा हो कि ऋण भन्ने प्रश्न उठाएका थिए ।

अढाई वर्षभन्दा बढी समय एकै प्रदेशमा बस्न सफल घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको र सोबारे अनुसन्धान भइरहेको बताइएको छ । घिमिरेलाई संघीय वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार साहको संघीय सहरी विकास मन्त्रालयमा, उद्योग–कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेको संघीय कृषि तथा पशुपक्षी मन्त्रालयमा र स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाको संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको हो ।

संघीय सरकारले नयाँ सहर आयोजना (बबरमहल) का सहसचिव मिलन आचार्यलाई प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव यदुचन्द्र घिमिरेलाई प्रदेशको स्वास्थ्य मन्त्रालयमा खटाएको छ ।

यससँगै, विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका योगेन्द्रप्रसाद दुलाललाई पठाइएको छ । यसअघि महानगरमा सरुवा भएका रामचलित्र महतोलाई मेयर नागेश कोइरालाले हाजिर नगराउने चेतावनी दिएपछि उनको युवा तथा खेलकुद मन्त्रालयमा पुनः सरुवा गरिएको हो ।

महानगर करिब ६ महिनादेखि कामु प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेको छ ।

कान्तिपुर

Link copied successfully