भोजपुर श्यामशिलाका अधिकांश किसान किवीखेतीमा

गाउँपालिकाले ‘पकेट’ क्षेत्र निर्धारण गरेर आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै किसान व्यावसायिक किवीखेतीमा लागेका हुन् । 

श्रावण २९, २०८२

रासस

Most of the farmers in Bhojpur Shyamshila are in kiwi farming

भोजपुर — पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् । गाउँपालिकाले ‘पकेट’ क्षेत्र निर्धारण गरेर आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै किसान व्यावसायिक किवीखेतीमा लागेका हुन् । 

गाउँपालिकाले पकेट क्षेत्र निर्माण गरेर किवीखेतीमा लगानी बढाएपछि यहाँका ३० घर बढी किसानले व्यावसायिक रुपमा किवीखेती गर्दै आएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए।

एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यो क्षेत्रका किसान व्यावसायिक किवीखेतीमा लागेको वडाध्यक्ष तामाङले बताए। 

यहाँका किसानले किवी बेचेर घरखर्च टार्न थालेका छन् । श्यामशिला भोजपुर–लेगुवा सडक नजिक भएकाले  किसानले आफ्ना उत्पादन सहज रूपमा बिक्री गर्दै आएका छन् । कृषि किसानको मुख्य आम्दानीको स्रोत भएकाले गाउँपालिकाले भूगोल सुहाउँदो फलफूल तथा सागसब्जीखेतीमा जोड दिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए।

यहाँका छ वटै वडामा माटो सुहाउँदो खेती भइरहेको बताउँदै उनले भने, “श्यामशिलामा किवीको प्रशस्त सम्भावना भएकाले पकेट क्षेत्र निर्धारण गरेका छौँ । अन्य स्थानमा कागती, एभोकाडोलगायत फलफूल विकास कार्यक्रम सञ्चालन गर्दै आएका छौँ।”

रासस

Link copied successfully