इटहरीका केही पूर्वजनप्रतिनिधि, नागरिक समाज र प्राज्ञिक तथा बौद्धिक वर्गलाई सहभागिता गराएर बुधबार पत्रकार सम्मेलनमार्फत चौधरीले नगरप्रमुख हेमकर्ण पौडेलको असक्षमताले नगरपालिका डुब्न लागेको बताए ।
What you should know
सुनसरी — इटहरी उपमहानगरपालिकाका पूर्वनगरप्रमुख द्ववारिकलाल चौधरीले नगरप्रमुख हेमकर्ण पौडेलले समयमै बजेट नल्याएर नगरवासीको भविष्यमाथि खेलबाड गरेको बताएका छन् ।
उनले वर्तमान नगरप्रमुख सहितका जनप्रतिनिधि अनियमिततामा संलग्न रहेको आरोप लगाउँदै आफू अनुकूल बजेट पास हुन नसकेपछि नगरपालिकालाई बजेटविहीनताको अवस्थामा पुर्याएको दाबी गरे ।
इटहरीका केही पूर्वजनप्रतिनिधि, नागरिक समाज र प्राज्ञिक तथा बौद्धिक वर्गलाई सहभागिता गराएर बुधबार पत्रकार सम्मेलनमार्फत चौधरीले नगरप्रमुख हेमकर्ण पौडेलको असक्षमताले नगरपालिका डुब्न लागेको बताए । नगरप्रमुख पौडेल सहितका जनप्रतिनिधिले नगरवासीप्रति जिम्मेवार नभएको बताउँदै चौधरीले उपमहानगरपालिकालाई कर्मचारी भर्ती केन्द्र बनाएको आरोप लगाए ।
इटहरी उपमहानगरपालिका अपारदर्शी रुपले चलेको बताउँदै जनप्रतिनिधिहरु सार्वजनिक सुनुवाइ नगरी प्रश्नबाट भागेको उनको भनाइ छ । इटहरीमा यसअघि नै सुरुवात भएका योजनाहरुलाई अलपत्र पारेर वर्तमान जनप्रतिनिधि विभिन्न महत्वकांक्षी योजना र खरिद मोहमा लिप्त भएको चौधरीको आरोप छ । तत्कालीन प्रदेश सरकारले समेटेको इटहरीको दीर्घकालीन बाढी नियन्त्रणका लागि बाहिरी चक्रपथ ४२ किलोमिटर रेखांकन भएको योजना कार्यान्वयन नभएकोमा उनले ध्यानाकर्षण भएको जनाएका छन् ।
टेङ्ग्रा खोला डाइभर्सन गर्ने योजना अलपत्र परेको र इलाका प्रहरी कार्यालय इटहरीको भवन निर्माणको सम्बन्धमा नगरपालिका उदासिन रहेको चौधरीले बताए । २५ शय्याको इटहरी अस्पताल १०० शय्यामा स्तरोन्नति हुन नसकेको भन्दै चौधरीले गरिब तथा विपन्न बालबालिकाको शिक्षामा पहुँच बढाउन इन्जिनियरिङ तथा मेडिकल तर्फको पढाइमा उपमहानगरपालिकाले बेवास्ता गरेको बताए ।
सार्वजनिक सम्पत्तिको संरक्षण र जनहितमा उपयोग गर्न वर्षौंदेखि अनाधिकृत ढंगले व्यक्ति तथा संघसंस्थाले हडपेको जग्गा स्थानीय सरकारले संरक्षण तथा उपयोग गर्न उपमहानगर चुकेको चौधरीले बताए । आफ्नो कार्यकालमा अघि बढाइएको इटहरी गौरवका आयोजनाहरूमध्ये जनता पार्क, बहुजातीय संग्रहालय र मोटरेबल पुल अलपत्र परेको उनले बताए ।
