डाइभर्सन माथिका ढुङ्गा र माटो बगाएपछि मेची राजमार्ग अवरुद्ध छ।
पाँचथर — मंगलबार मध्यराति वर्षापछि आएको बाढीले पाँचथरमा प्रमुख दुई वटा सडक अवरुद्व भएका छन् । बाढीका कारण मेची राजमार्ग र फिदिम नांगीन फालौट मार्ग अवरुद्व भएका हुन् ।
हेवा खोलामा आएको बाढीले त्यहाँ बनाइएको डाइभर्सनको सतह पार गर्दा मेची राजमार्ग अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
डाइभर्सन माथिका ढुङ्गा र माटो बगाउनका साथै वारि र पारिपट्टी बाटो भत्काएर पानी बगिरहेकाले मर्मतमा केही घण्टा लाग्ने सडक डिभिजन इलामका सुपरभाइजर डम्बर मिश्रले जानकारी दिए ।
उनका अनुसार अहिले त्यहाँ २ वटा स्काभेटरले बाटो मर्मतको प्रयास गरिरहेका छन् । यता फिदिम नागीन याङनाम प्राङवुङ सडक खण्ड अन्तर्गत फिदिम १ र ११ लाई सिमाना छुट्याएर बगेको फेमे खोलामा आएको बाढीले बाटोमा क्षति पुर्याएपछि सो सडक अवरुद्व भएको हो ।
त्यहाँ पूर्वाधार विकास कार्यालयले सडक खुलाउने प्रयास गरिरहेको छ । उक्त सडक खुल्न करिब ३ घण्टा लाग्ने अनुमान छ ।
