नुनथलाका अग्निपीडितलाई राहत हस्तान्तरण

अग्निपीडित सहयोग संकलन समितिको पहलमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा कार्यरत, विभिन्न पेसा/व्यवसायी, समाजसेवीलगायतबाट संकलित रकम वडाध्यक्ष भगेश्वर राई र सुन्दरलाल तामाङले हस्तान्तरण गरेका हुन् ।

श्रावण २८, २०८२

डम्बरसिं राई

Handing over relief to the fire victims of Nunthala

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका अग्निपीडितालाई राहत उपलब्ध गराइएको छ । गत साउन १८ भएको आगलागी पीडित जीतबहादुर स्याङ्तानका परिवारलाई बुधबार सात लाख ७५ हजार पाँच सय ७७ रूपैयाँ हस्तान्तरण गरिएको हो ।

वडा सदस्य तारादेवी तामाङको संयोजकत्वमा गठित अग्निपीडित सहयोग संकलन समितिको पहलमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा कार्यरत, विभिन्न पेसा/व्यवसायी, समाजसेवीलगायतबाट संकलित रकम वडाध्यक्ष भगेश्वर राई र सुन्दरलाल तामाङले हस्तान्तरण गरेका हुन् ।

यसमध्ये सन्दुरलाल तामाङको खातामा संकलन भएको पाँच लाख ४१ हजार सात सय ४२ र अन्य दुई लाख २८ हजार ८ सय ३५ रूपैयाँ संकलन भएको स्थानीय शिक्षक धनकुमार तामाङले बताएका छन् । ‘अहिले पहिलो चरणमा संकलन भएको रकम हस्तान्तरण गरिएको छ,’ उनले भने, ‘अन्य रकम पनि संकलन भइरहेको छ ।’

उक्त रकमबाट घर निर्माण गर्ने तामाङले जनाएका छन् । आगलागीमा बाँसको चित्राको छाना भएको एक वटा दुई तले घर, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, जग्गाधनीपूर्जा, नागरिकतालगायत जलेर नष्ट हुँदा १३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उक्त घटना चुलाबाट सल्किएको आगोबाट भएको थियो ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully