झुम्का कारागारबाट एक कैदी फरार

उनी कारागारको पर्खाल नाघेर भागेको जानकारी चौकीदार मार्फत् प्रशासनलाई प्राप्त भएको कारागारका जेलर सुवासकुमार लामिछानेले जानकारी दिए ।

श्रावण २८, २०८२

अर्जुन सुवेदी

A prisoner escaped from Jhumka Jail

सुनसरी — सुनसरीको झुम्का कारागारबाट बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रूपक पौडेल खत्री कारागारको ‘बी’ ब्लकबाट गएराति देखि फरार भएका हुन्।

उनी कारागारको पर्खाल नाघेर भागेको जानकारी चौकीदार मार्फत् प्रशासनलाई प्राप्त भएको कारागारका जेलर सुवासकुमार लामिछानेले जानकारी दिए ।

फरार खत्रीलाई सामूहिक बलात्कारको घटनामा संलग्न रहेको आरोपमा अदालतले पुर्पक्षका लागि २०८१ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको थियो । उक्त मुद्दाको किनारा लगाउँदा जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते उनलाई १३ वर्ष कैद सजाय सुनाएको थियो ।

घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुनसरीका सुरक्षा प्रमुखहरू सम्मिलित टोलीले स्थलगत निरीक्षण गरी कारागारको सुरक्षा अवस्था मूल्याङ्कन गरेको जनाएको छ ।

घटना छानबिनका लागि सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जनाए ।

अर्जुन सुवेदी

Link copied successfully