दूधकुण्ड मेला भर्न गएका ७ सयको निःशुल्क स्वास्थ्य परीक्षण, ५ जनाको उपचार 

जनैपूर्णिमाको अवसरमा दूधकुण्ड पोखरीमा लाग्ने मेलाको अवसरमा रेडक्रसले ७ सय बढी दर्शनार्थीको स्वास्थ्य परीक्षण गरी सेवा दिएको हो ।

श्रावण २५, २०८२

भानुभक्त निरौला

Free health check-up of 700 people who went to Dudhkund Mela, treatment of 5 people

सोलुखुम्बु — नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले करिब ७ सयभन्दा बढी दर्शनार्थीहरूको स्वास्थ्य परीक्षण गरेको छ  । 

जनै पूर्णिमाको अवसरमा दूधकुण्ड पोखरीमा लाग्ने मेलाको अवसरमा रेडक्रसले ७ सय बढी दर्शनार्थीको स्वास्थ्य परीक्षण गरी सेवा दिएको हो । 

समुद्री सतहबाट ४६ सय मिटरको उचाइमा हरेक वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेलाको अवसरमा त्यहाँ पुग्ने तीर्थयात्रीहरुलाई हरेक वर्ष रेडक्रसले उपचार सहायता दिँदै आएको छ । भ्रमणका लागि गएका दर्शनार्थीहरुलाई विशेषगरी उचाइका कारण रिँगटा लाग्ने, वान्ता हुने, श्वासप्रश्वासमा समस्या आउने जस्ता शारीरिक समस्याहरू देखिने गर्दछन् ।

नेपाल लाइफ इन्स्योरेन्सको सहयोग तथा रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको आयोजनामा नेपाली सेनासहितको टोलीले साउन २३ र २४ गते २ दिन दूधकुण्ड जाने विभिन्न ठाउँमा गएर यात्रीहरूलाई सेवा दिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुका कोषाध्यक्ष सुरेश खड्काले बताए ।

उचाइका कारण हुने विभिन्न स्वास्थ्य समस्याका लागि संस्थाले १२ जना स्वयंसेवक तथा डाक्टरहरूको टोलीलाई विभिन्न ठाउँमा तैनाथ राखेर सेवा दिएको उनको भनाइ छ ।

कामुडाँडा, जम्ल्याहा खोला, गाम्टाङ, सहश्रबेनी, दूधकुण्ड लगायतका ठाउँमा बसेर स्वास्थ्य परीक्षण तथा उपचार गरिएको हो ।

करिब ७ सयको स्वास्थ्य परीक्षणका क्रममा ५ जना बिरामीको उपचार गरिएको छ । केही समय अघि मात्रै दूधकुण्ड भ्रमण गएका खोटाङका एक किशोरको 'हाइ अल्टिच्युड'का कारण ज्यान गएको थियो ।

भानुभक्त निरौला

Link copied successfully