समुन्द्री सतहबाट करिब ४ हजार ६ सय मिटरको उचाइमा रहेको दिव्य पोखरीको दर्शन गर्न सोलुखुम्बुसहित छिमेकी जिल्ला खोटाङ, उदयपुर, भोजपुर, संखुवासभा तथा संघीय राजधानी काठमाडौंसहित भारतलगायत विभिन्न देशका पर्यटक दूधकुण्ड पुगेका थिए ।
What you should know
सोलुखुम्बु — यस वर्षको जनैपूर्णिमा मेला भर्न ३ हजारभन्दा बढी आन्तरिक तथा बाह्य दर्शनार्थी दूधकुण्ड पुगेका छन् । हिमाली जिल्ला सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-१ मा अवस्थित दूधकुण्ड पोखरीको भ्रमण तथा दर्शन गर्न जनैपूर्णिमाको अवसरमा मात्रै ३ हजारभन्दा बढी दर्शनार्थी त्यहाँ पुगेका हुन् ।
समुन्द्री सतहबाट करिब ४ हजार ६ सय मिटरको उचाइमा रहेको दिव्य पोखरीको दर्शन गर्न सोलुखुम्बुसहित छिमेकी जिल्ला खोटाङ, उदयपुर, भोजपुर, संखुवासभा तथा संघीय राजधानी काठमाडौंसहित भारतलगायत विभिन्न देशका पर्यटक दूधकुण्ड पुगेका थिए । दूधकुण्ड जान दर्शनार्थीहरू न्युनतम १० जना र अधिकतम ४० जनाको टिम बनाएर आइपुग्ने गरेका छन् । त्रिधार्मिक आस्थाको केन्द्रसमेत मानिने दूधकुण्डमा जनैपुर्णिमाको अवसरमा लाग्ने मेलामा हिन्दु, किराँत तथा बौद्ध धर्मका धर्मावलम्बीहरूले दर्शन गर्ने गरेका छन् । ६ हजार ९ सय ९८ मिटर अग्लो नुम्बुर हिमालको काखैमा रहेको दूधकुण्ड पोखरी प्राकृतिक हिसाबले आफैंमा विशेष रहेकाले पनि धार्मिक आस्थासँगै लिएर सुन्दरताको अवलोकन गर्न पर्यटकहरू यहाँ पुग्ने गरेका छन् ।
यस्तो छ दूधकुण्ड नामकरणको इतिहास :
दूधकुण्डबारे विभिन्न किंवदन्तीहरू रहे तापनि हिमालहरूको सृष्टिताका कुण्ड अर्थात् पोखरी बनेको र यसको खोजी चौंरीगाईबाट भएकाले यसलाई दूधकुण्ड भनिएको जानकारहरु बताउँछन् । बाह्रैमास सेतो, कञ्चन र दूधजस्तो पानी कुण्डमा रहिरहने भएकाले दूधकुण्ड नामको औचित्य र पहिचान पुष्टि हुँदै आएको छ । के-कुन कालमा भन्ने उल्लेख नभए तापनि परापूर्वकालमा चौंरीपालकको एउटा चौंरी सधैं दिनको एक समयमा हराउने र पछि आफैं आएर बथानमा मिसिने गर्थ्यो । एकदिन किसानलाई शंका लागेपछि चौंरी कहाँ जाँदोरहेछ भन्ने खोजी गर्न पछि लाग्दा उक्त चौंरीले कुण्ड रहेको एक स्थानमा रहेको ढुंगालाई दूध चढाउने गरेको देखेपछि यसको नाम दूधकुण्ड रहेको किम्बदन्ती छ । यसैगरी अर्को किंबदन्ती यस्तो पनि छ कि प्राचीनकालमा देवता र दानवबीच यही कुण्डमा समुन्द्र मन्थन भएको र देवताले जितेर दिव्यरत्न अमृत लिएर गएको स्थानहरूको विश्वास छ । हिमाली क्षेत्रमा प्रशस्त ताल तथा कुण्डहरू पाइने भएपनि दूधकुण्डलाई दर्शनार्थी र धार्मिक अगुवाहरुले विशेष रुपमा व्याख्या गर्ने गरेका छन् ।
किन विशेष छ दूधकुण्ड दर्शन ?
प्राकृतिक हिसाबले आफैंमा दिव्य र अलौकिक रहेको दूधकुण्ड धार्मिक हिसाबले पनि उत्तिकै विशेष छ । दूधकुण्डमा स्नान गरे निसन्तान दम्पतीको सन्तान प्राप्ति हुने, आत्मशुद्धि र पितृ मोक्ष प्राप्त हुने, मागेको पुग्ने जनविश्वाले दूधकुण्ड प्रतिको आस्था र धार्मिक विश्वासलाई सदियौँदेखि कायम राख्दै आएको छ ।
सरकारी नोकरीको तयारी गरिरहेकाहरु, विद्यार्थी, शिक्षक, राजनीतिज्ञ, धर्मगुरु, धामीझाँक्रीलगायत हरेक तह र तप्कामा रहेका व्यक्तिहरु कुण्ड पुगेर आफ्नो इच्छा पूर्ति र समस्या समाधानका लागि बर माग्ने गरेका छन् ।
सोलुदूधकुण्ड नगरपालिकाको नामकरणको आधारसमेत रहेको दूधकुण्ड पोखरीको पर्यटन प्रवर्द्धन र विकासमा नगरपालिकाले विशेष चासोका साथ काम गरिरहेको नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको भनाइ छ ।
पर्याप्त काम गर्न नसकिए तापनि तीर्थयात्रीहरुको सहजताका लागि होटल व्यवसाय खोल्न समन्वय, दूधकुण्ड पुग्ने बाटोको मर्मत तथा निर्माण, शौचालय तथा खानेपानीको व्यवस्था लगायतका काम नगरपालिकाले गरिरहेको उनको भनाइ छ । विगत वर्षहरुझैं यस वर्ष पनि मेलाको सुरक्षा व्यवस्थामा स्थानीय प्रशासनले तदारुकताका साथ चासो दिएको छ । जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सीडीओ अनोजकुमार घिमिरेसहित १५ जना जिल्लाका उच्चाधिकारीहरु सहितको टोली दूधकुण्ड पुगेको थियो । उचाईका कारण हुने बिमारी र स्वास्थ्य प्रतिकूलतालाई ट्रयाक गरेर उद्धार र उपचारमा विशेष ध्यान दिइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
यस वर्षको मेलामा जिल्ला सुरक्षाको संयन्त्रसहित १५ जनाको टोली अवलोकन भ्रमणमा पुगेको थियो । उचाइका कारण हुने बिरामीको उपचारका लागि गैरसरकारी संस्था नेपाल रेडक्रस सोर्साइटी तथा नेपाली सेनाले स्वास्थ्य उपचार शिविर सञ्चालन गरेको थियो । जसबाट ५ सय बढी तीर्थयत्री लाभान्वित भएका छन् । मेलाको २ दिन २३ र २४ गते बाटोमा खुलेका होटल व्यवसायहरु अत्यन्तै व्यस्त रहेको हाटल व्यवसायी फुर्वा शेर्पाले बताए ।
