औल क्षेत्रमा भदौ पहिलो सातासम्म रोपेको पनि राम्रै फल्ने भएकाले यस क्षेत्रका किसान अझै आशावादी छन् ।
ताप्लेजुङ — जेठको दोस्रो सातादेखि नै रोपाइँ सुरु हुने ताप्लेजुङमा साउन तेस्रो साता भइसक्दा अझै २५ प्रतिशत रोपाइँ गर्न बाँकी छ । पर्याप्त वर्षा नभएका कारण किसानले समयमा रोपाइँ गर्न नपाएका हुन् ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार ७५ प्रतिशत रोपाइँ सकिएको छ । औल क्षेत्रमा भदौ पहिलो सातासम्म रोपेको पनि राम्रै फल्ने भएकाले यस क्षेत्रका किसान अझै आशावादी छन् । कृषि ज्ञान केन्द्र ताप्लेजुङका कृषि प्रसार अधिकृत विजय श्रेष्ठका अनुसार गत वर्ष साउन तेस्रो सातासम्ममा ९६ प्रतिशत रोपाइँ भएको थियो । ‘गत वर्षको तुलनामा निकै कम भइरहेको छ,’ अधिकृत श्रेष्ठले भने, ‘अधिकांश धान खेती हुने क्षेत्र आकासे पानीको भर पर्नुपर्ने भएकाले वर्षा नहुँदा समस्या भइरहेको छ ।
सिँचाइ कुलो भएको क्षेत्रमा समयमै रोपाइँ भएको छ । ताप्लेजुङमा ५ हजार ६ सय ६६ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । बेलगुटी, भँगेरे, अट्टे, मनिपुरेजस्ता पुरानो रैथाने देखि सुख्खा–१, खुमल–४ जस्ता उन्नत जातको धानबाली समेत लगउने गरेका छन् ।
