स्थायी बसोबास नेचासल्यान भई काठमाडौंमा अस्थायी रुपमा बसोबास गर्दै आइरहेका पालिकावासीहरुको सहजताका लागि गाउँपालिकाले शिविर आयोजना गरेको गाउँपालिका अध्यक्ष धनजन राईले बताए ।
What you should know
सोलुखुम्बु — जिल्लाको नेचासल्यान गाउँपालिकाले काठमाडौंमा आयोजना गरेको एकीकृत सेवा प्रवाह शिविरबाट ११ सयभन्दा बढीले सेवा लिएका छन् । गाउँपालिकाले गत साउन १९ बाट २२ सम्म ४ दिन काठमाडौंको सुकेधारामा सञ्चालन गरेको एकीकृत सेवा शिविरबाट उक्त संख्याबराबर नागरिकले सेवा लिएका हुन् ।
स्थायी बसोबास नेचासल्यान भई काठमाडौंमा अस्थायी रुपमा बसोबास गर्दै आइरहेका पालिकावासीहरुको सहजताका लागि गाउँपालिकाले शिविर आयोजना गरेको गाउँपालिका अध्यक्ष धनजन राईले बताए । शिविरमार्फत वडा नम्बर १ का १ सय ९३ जनाले सेवा लिएका छन् । यस्तै वडा नम्बर २ का १ सय २८ जना, वडा नम्बर ३ का १ सय ३०, वडा नम्बर ४ का ९१ जना र वडा नम्बर ५ का ९८ जनाले सेवा लिएका हुन् भने गाउँपालिकाले काठमाडौंबाटै १२ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, ३ सय १३ जनालाई राष्ट्रिय परिचयपत्र र २ सय ४ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरी परिचयपत्र सम्बन्धी ५ सय २९ जनाले सेवा लिएका छन् ।
गाउँपालिकाले शिविरमार्फत वडा नम्बर १ बाट ३८ हजार ६ सय ९०, वडा नम्बर २ बाट २० हजार ४ सय ८५, वडा नम्बर ३ बाट १७ हजार ९ सय ९६, वडा नम्बर ४ बाट १९ हजार ८ सय ६३ र वडा नम्बर ५ बाट २५ हजार ३ सय ८ गरी १ लाख २२ हजार ३ सय ४२ रुपैयाँ राजस्व संकलन गरको जनाइएको छ ।
नागरिकलाई आँगनको सरकार भएको अनुभूति हुनेगरि गाउँपालिकाले काठमाडौंमै गएर सेवा दिएको भन्दै गाउँपालिका उपाध्यक्ष विना राईले सेवा लिनका लागि हजारौं खर्च गरेर पालिका पुग्नुपर्ने नागरिकको बाध्यतालाई हेरेर यो शिविरको आयोजना गरिएको बताइन् ।
