भारतीय प्राविधिकको सहयोगमा पुल जडानको काम तेस्रो पटक भइरहेको हो ।
What you should know
पाँचथर — मेची राजमार्गको पाँचथर खण्डअन्तर्गत हेवा खोलामा मोडुलर ब्रिज जोड्ने कामलाई तीव्रता दिइएको छ । सडक डिभिजन इलाम र भारतबाट आएका प्राविधिकहरु काममा खटिएका हुन् ।
यसअघि निर्माणाधीन मोडुलर ब्रिज गत जेठ ३१ गते निर्माण सम्पनन नहुँदै भाँचिएको थियो । फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई सिमाना छुट्याएर बग्ने हेवा खोला क्षेत्रमा तीन वर्षयता यातायात सेवा प्रभावित हुँदै आएको छ ।
यसपटक भारतबाट लन्चिङ किट्ससहित आएका भारतीय प्राविधिकहरुले सडक डिभिजन इलामको निगरानीमा पुल जडान अघि बढाइएको सडक डिभिजन इलामका प्रमूख पवन भट्टराईले जानकारी दिए । पुल जडान गर्न २१ जना भारतीय प्राविधिक खटेका छन् । ‘अघिल्लो पटक भाँचिदा क्षति पुगेको पुलका अपुरो सामग्रीसँगै जडान गर्ने प्राविधिक र अन्य सामाग्री आइपुगेपछि जडान गर्न थालिएको हो,’ भट्टराईले भने ।
पुल भाँचिदा २० प्रतिशत सामग्री नष्ट भएको थियो । पुलका सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएपछि जडानको अन्तिम चरणमा भाँचिएको थियो ।
यो मोडुलर भारत सरकारले उपलब्ध गराएको हो । जसको लम्बाई ७० मिटर छ । साउन १७ देखि सुरु भएको मोडुलर ब्रिजको जडान कार्य सक्न अब कम्तिमा १० दिन लाग्ने अनुमान छ । जडानमा भारतीय इन्जिनियर र प्राविधिक भारतबाटै आएका छन् ।
मोडुलर ब्रिज जडान र संरचना निर्माणका लागि दोभान सुपर सौगात लाइट बिल्डर्सले ब्रिज बनाउन ३ करोड ५० लाखमा ठेक्का लिएको छ ।
मेची राजमार्ग हुँदै फिदिमबाट पाँचथरको हिलिहाङ,याङवरक र फालेलुङ सँगै सिङ्गो ताप्लेजुङलाई सडक सञ्जालसँग जोड्ने हेवा खोलाको पक्की पुल २०८० असार २ मा बाढीले बगाएको थियो । त्यसपछि संघीय सरकारले २९ दिन लगाएर बेलिब्रिज बनाएकामा सो पनि २०८१ असोज १२ गते बाढीले बगाएपछि दोस्रो पटक जोडिँदै गरेको मोडुलर ब्रिज गत जेठ ३१ गते जडानकै क्रममा भाँचिएपछि यहाँ तेस्रो पटक जडान गर्नुपरेको हो ।
बाढीले पुल बगाएपछि हेवा खोला क्षेत्रको यातायात अस्तव्यस्त छ । पानी नपर्दा डाइभर्सनबाट गाडी आउजाउ गरेपनि बाढी आउनासाथ अवरुद्व हुँदा यात्रुले कष्ट बेहोर्नुपरेको छ ।
