झापामा मादक पदार्थ सेवन गरेका वृद्धको मृत्युमा संलग्न छोरासहित चार जना नियन्त्रणमा, अन्य फरार व्यक्तिको खोजी जारी रहेको छ।
झापा — झापा गाउँपालिका–१ लसुनामा एक वृद्ध मादक पदार्थ सेवन गरी आएपछि छिमेकीहरूले रुखमा बाँधेर राखेको अवस्थामा ती वृद्ध मृत फेला परेका छन्।
झापा प्रहरीले दिएको जानकारीअनुसार मंगलबार राति साढे १० बजे स्थानीय ६० वर्षीय जतन सोरेन मादक पदार्थ सेवन गरी छिमेकी महादेव टुडुको घर छेउ आइपुगेका थिए।
घर छेउको गल्लीमा आएर काम्न थालेपछि छिमेकी टुडु लगायत अन्य स्थानीयले मिलेर वृद्धलाई आमको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेका थिए। तर आज बिहान ४ बजे हेर्दा उनी मृत अवस्थामा फेला परेका जिल्ला प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी हुनासाथ प्रहरी खटिएको थियो। घटनामा संलग्न मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, छिमेकी महादेव टुडु, सोही स्थानका २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
साथै अन्य थप फरार व्यक्तिको समेत खोजतलास भइरहेको झापा प्रहरीका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
