भारतीय नागरिक बनाई हङकङ पठाउने गिरोह सक्रिय

हङकङले सन् २००५ देखि नेपाली नागरिकलाई वर्किङ र घरेलु कामदार भिसामा रोक लगाएको छ, यही कारण धेरै नेपाली महिलालाई भारतीय नागरिक बनाएर हङकङ पठाइन्छ ।

श्रावण १९, २०८२

पर्वत पोर्तेल

A gang of Indian nationals and sent to Hong Kong is active

What you should know

विराटनगर — मानव तस्करी र चेलिबेटी बेचबिखनविरुद्ध कार्यरत आधा दर्जनभन्दा बढी गैरसरकारी संस्था पूर्वी सीमा काँकडभिट्टामा सक्रिय छन् । नेपाल–भारत सीमा नाकामै ती संस्थाको उपस्थिति रहे पनि शुक्रबार ती संस्थाका कर्मचारी र प्रहरीको आँखा छल्दै १६ देखि २१ वर्ष उमेरका सात युवती मेची नदी पार गर्दै भारत छिरे । उनीहरूसँग दुई पुरुष पनि थिए ।

तैनाथ भारतीय अर्धसैनिक बल (एसएसबी) ले नाकामा ‘आईडी भेरिफिकेसन’ का क्रममा त्यो टोलीप्रति शंका गर्दै सोधपुछ गर्‍यो । प्रारम्भिक सोधपुछका क्रममा उनीहरू वैदेशिक रोजगारीको लागि यात्रा गरिरहेको खुलेपछि थप अनुसन्धानका लागि एसएसबीले दुई पुरुषसहित नौ जनालाई खोरीबारी प्रहरीको जिम्मा लगायो । 

खोरीबारी प्रहरीको थप अनुसन्धानबाट खुलासा भयो कि ती सातैजना युवतीहरूलाई हङकङ पठाउन लागिएको रहेछ । झनै गम्भीर कुरा के भने, उनीहरूसँग भारतीय राहदानीसमेत फेला पर्‍यो । ‘चेलीहरूको उद्धार गरी अभिभावकको जिम्मा लगाउन भनी प्रहरी कार्यालय पुगेका पुगेका थियौं,’ माइती नेपाल काँकडभिट्टाका प्रमुख गोविन्द घिमिरेले भने, ‘प्रहरीले फिर्ता पठाउन कागज तयार पार्दै थियो । तर, उनीहरूको साथबाट भारतीय राहदानी र आधार कार्डसँगै नेपालको कागजातहरु फेला परेपछि छोड्न मानेन ।’ 

प्रहरीले उनीहरुलाई दुवै देशको कागजात प्रयोग गरेको आरोपमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । महिलाहरूलाई हङकङ पठाउने गिरोहमा संलग्न रहेको आरोपमा दार्जिलिङस्थित तोरीबारीका ४१ वर्षीय दीपेश गुरुङ र संखुवासभाको मकालु गाउँपालिका–३ निवासी ६१ वर्षीय जपन गुरुङलाई समेत पक्राउ गरिएको छ । सातै जना महिलाहरू संखुवासभाकै भएको भारतीय प्रहरीले जनाएको छ ।

‘यदि उनीहरूको साथबाट भारतीय राहदानी नभेटिएको भए, भारतीय प्रहरीले हाम्रो जिम्मा लगाउँथ्यो र उनीहरु नेपाल फर्कने थिए,’  घिमिरेले स्पष्ट पारे, ‘तर दुवै देशको कागजात भेटिएपछि उनीहरूलाई छोड्न नमिल्ने प्रहरीले बतायो ।’ 

यस्तै प्रकारको घटना गत वर्ष पनि भएको थियो । धरानकी दुई महिला मेची पुल पार गर्दै भारत छिर्दा एकैसाथ नेपालको नागरिकता र भारतको राहदानी देखाएपछि पक्राउ परेका थिए ।

यसपटक पनि घटना दोहोरिएको छ । यसको पृष्ठभूमिमा मानव तस्करीमा संलग्न गिरोह नेपाली नागरिकलाई भारतीय बनाई हङकङ पठाउने योजना बनाइरहेको रहस्य खुलेको छ ।

हङकङले सन् २००५ देखि नेपाली नागरिकलाई वर्किङ र घरेलु कामदार भिसामा रोक लगाएको छ । यही कारण धेरै नेपाली महिलालाई भारतीय नागरिक बनाएर हङकङ पठाइन्छ । भारतीय श्रमिकका लागि हङकङ श्रम गन्तव्य सहज छ भने नेपालीका लागि अझै बन्द छ ।

केही समयअघि श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीले हङकङलाई आकर्षक श्रम गन्तव्यका रूपमा विकास गर्न बेइजिङमार्फत पहल गरिने बताएका थिए । हाल हङकङमा करिब ३० हजार नेपाली कामदार रहेको अनुमान छ । घरेलु कामदारको माग उच्च भए पनि वैधानिक भिसा नपाउँदा नेपाली महिला दलालमार्फत भारतीय परिचयपत्र र राहदानी बनाएर हङकङ उड्न बाध्य छन् । 

हङकङले भारतीय घरेलु तथा दक्ष कामदारका लागि भिसा सहजै दिन्छ । भारतसँगको पुरानो व्यापारिक, राजनीतिक र जनशक्ति सम्बन्धले गर्दा त्यहाँको भिसा प्रक्रिया तुलनात्मक रूपमा सरल मानिन्छ । 

त्यही आधारमा विशेषतः नेपाली महिलालाई भारतीय बनाई हङकङ पठाइने गरिएको हो ।  भारतको सिलिगुडी, बागडोगरा लगायतका क्षेत्रमा नक्कली आधार कार्ड र राहदानी बनाउने गिरोह सक्रिय छन् ।  गिरोहले मोटो रकम लिएर भारतीय कागजात बनाउने गरेको पाइन्छ ।

मानव तस्करीमा संलग्न गिरोहले भारतीय राहदानीसहित हङकङ उडाएबापत प्रतिव्यक्ति ३ देखि ५ लाख रुपैयाँसम्म असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका एक अभियुक्तले पनि सोही कुरा बयान दिएका छन् । 

भारतको दिल्ली, मुम्बई, बैंगलुरु, हैदराबाद र चेन्नई विमानस्थलबाट हङकङको प्रत्यक्ष उडान हुने भएकाले गिरोहले यिनै पाँच विमानस्थलको प्रयोग गरेर नेपालीलाई हङकङ पठाउने गरेको देखिन्छ ।

यस्तै घटनामा, गत जेठ २७ गते (११ जुन) राति दक्षिण भारतको बैंगलुरुस्थित केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि भयो । टर्मिनल २ बाट २६ वर्षीया नेपाली युवती भारतीय राहदानी प्रयोग गरी हङकङ जान खोज्दै गर्दा प्रहरीको फन्दामा परेकी थिइन् ।  

नेपालकी सुष्मिता राई केही समयदेखि हरियाणामा बस्दै आएकी थिइन् । क्याथे प्यासिफिकको उडान सीएक्स ६२४ को टिकट बुक गरिसकेकी उनीसँग हङकङको रोजगार भिसा पनि थियो । 

भारतीय अध्यागमन अधिकारी जुबिन जोन्सन वैद्यले प्रहरीमा दर्ता गराएको प्रतिवेदनअनुसार उनी राति १ः२० बजे उडान हुने टर्मिनल २ मा साँझ ९ः२० बजे नै पुगेकी थिइन् । उनको साथमा उडान टिकट, हङकङको रोजगार भिसा र ८५९४४२ नम्बरको भारतीय राहदानी थियो । 

तर, अध्यागमन अधिकारीले परिचय प्रमाणको लागि थप कागजात माग्दा उनले भारतीय आधार कार्ड देखाइन् । त्यसपछि, मोबाइलमा रहेको नेपालको राष्ट्रिय परिचयपत्र समेत देखाइन् । दुई राष्ट्रको कागजात बोकेको आरोपमा उनलाई तत्काल पक्राउ गर्‍यो ।

नेपाली नागरिकलाई दुई देशको परिचयपत्र वा राहदानी राख्न नपाउने व्यवस्था भएकाले उनीमाथि भारतीय दण्ड संहिताको धारा ३३६ (नक्कली कागजात बनाउने), ३४० (नक्कली कागजात प्रयोग गर्ने) र पासपोर्ट ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ । नक्कली कागजात प्रयोग भएको पाइएमा ७ वर्षसम्म कैद र राहदानी ऐन १९६७ अनुसार २ वर्ष कैद ५० हजार जरिवाना या दुवै हुन सक्ने व्यवस्था छ । विदेशी नागरिकको हकमा विदेशी नागरिक ऐनअन्तर्गत देश निकाला गर्न सकिने प्रावधान रहेको छ । 

प्रहरीका अनुसार उनले आधार कार्ड र भोटर आईडी पश्चिम बंगालबाट बनाएकी थिइन् । यिनै नक्कली कागजातका आधारमा उनले भारतीय राहदानीसमेत बनाएकी थिइन् ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully