खुम्बु पासाङ ल्हामु पालिकाको काठमाडौंबाट एकीकृत सेवा 

नागरिकको माग र आवश्यकताको आधारमा आगामी दिनमा पनि यस्ता सेवाहरू थप विस्तार गर्ने गाउँपालिकाले जनाएको छ ।

श्रावण १८, २०८२

भानुभक्त निरौला

Integrated service from Kathmandu in Khumbu Pasang Lhamu Municipality

सोलुखुम्बु — विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले काठमाडौंमा एकीकृत सेवा शिविर सुरु गरेको छ ।

पालिकाको आयोजनामा चुच्चेपाटीमा सुरु भएको शिविरमा आइतबार मात्रै ९६ जनाले सेवा लिएका छन् ।  

उच्च हिमाली भेग र भौगोलिक विकटतालाई हेरेर पालिकाले काठमाडौंमा रहेका नागरिकका लागि सोही ठाउँमा गएर सेवा दिएको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए । शिविरको पहिलो दिनमै ६२ जनाले सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण, २१ जनाले घटना दर्ता तथा १३ जनाले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिए । उनका अनुसार उच्च हिमाली भेगमा अवस्थित गाउँसम्म वर्षायाममा प्रत्यक्ष सेवा पुर्‍याउन कठिन हुने भएकाले काठमाडौंमा अस्थायी रूपमा बसोबास गरिरहेका नागरिकलाई सहजता प्रदान गर्न एकीकृत सेवा सुरु गरिएको हो । 

नागरिकको माग र आवश्यकताको आधारमा आगामी दिनमा पनि यस्ता सेवाहरू थप विस्तार गर्ने गाउँपालिकाले जनाएको छ । पर्यटन व्यवसाय, अन्य व्यापार व्यवसाय, औषधि उपचारलगायत विविध बाध्यताका कारण काठमाडौंमा बसिरहेका नागरिक लक्षित गरी शिविर सञ्चालनका लागि गाउँपालिकाको ५ वटै वडाका जनप्रतिनिधि र कर्मचारी काठमाडौं पुगेका छन् । 

भानुभक्त निरौला

Link copied successfully