भारी वर्षाले उदयपुरमा ४ घर डुबानमा, त्रियुगा नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

आकाशे पानीको निकास नहुँदा त्रियुगा नगरपालिका–१३ का चार घर डुबानमा परेका छन्, परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

श्रावण १८, २०८२

राकेश नेपाली

4 houses flooded in Udaipur due to heavy rain, Triyuga riverside area urged to be cautious

उदयपुर — शनिबार राति परेको भारी वर्षाले उदयपुरमा चार घर डुबानमा परेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार त्रियुगा नगरपालिका–१३ पोर्ताहास्थित सदा बस्तीका चार घर डुबानमा परेका हुन् । 

आकाशबाट परेको पानीको निकास नहुँदा भुइँघर बनाएर बसोबास गरेका सदा बस्तीका चार घर डुबानमा परेको प्रजिअ लुइँटेलले जानकारी दिए । डुबानमा परेका चारै घरका परिवारलाई अहिले सुरक्षित स्थानमा सारिएको उनले बताए ।

त्रियुगा नगरपालिका–१३ का वडाध्यक्ष नवीनकुमार चौधरीका अनुसार पोर्ताहाका सुरजा सदा, कान्छा सदा, जक्कु सदा र एक नाम नखुलेको परिवारको घर डुबानमा परेको हो । उनले भने, 'चार परिवारका जम्मा ११ जना विस्थापित भएका छन्। सबैलाई सुरक्षित घरमा राखिएको छ।'

प्रजिअ लुइँटेलका अनुसार डुबानमा परेका चार घरबाहेक अन्य स्थानमा कुनै क्षति भएको छैन ।

त्रियुगा नदीले सतर्कता तह पार गर्‍यो

जल तथा मौसम विज्ञान विभागका अनुसार त्रियुगा गाईघाट जल मापन केन्द्रमा नदीको जल सतह सतर्कता तह पार गरेको छ। रातभर परेको अविरल वर्षाका कारण जल सतह बढेको र अझै बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र डुबान हुने होचा भूभागमा बस्नेहरुलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully