अपर तमोर आयोजनाको कामदार बस्ने ब्यारेकमा तोडफोड

यहाँ संघर्ष समितिले साउन ११ गतेदेखि ढुवानीका साधनमा रोक लगाउने लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

श्रावण १७, २०८२

आनन्द गौतम

Vandalism in barracks where workers of Upper Tamor project live

काठमाडौँ — अपर तमोर जलविद्युत आयोजनाको चिनियाँ कामदार राख्न बनाइएको ब्यारेकमा शुक्रबार बिहान तोडफोड भएको छ । आयोजनाका अनुसार १३ वटा झ्याल, ६ वटा ढोका, १ थान हलोजेन बत्ती लगायतका संरचनामा तोडफोड भएको हो । 

तमोर इनर्जी आयोजनाका संयोजक सम्झना थापा क्षेत्रीले आयोजनाविरुद्ध सङ्गर्ष गर्दै आएको समूहले तोडफोड गरेको दाबी गरिन् । संयोजक वीरबल लिङ्खिम स्वयं पनि यसमा संलग्न रहेको उनको दाबी छ । 

‘अपर तमोर संघर्ष समिति’ का संयोजक वीरबल लिङ्खिमले भने आफूहरूले कुनै तोडफोड नगरेको र शान्तिपूर्ण आफ्ना माग उठाइरहेको दाबी गरे । ‘मैले नेतृत्व गरेको आन्दोलन शान्तिपूर्ण छ,’ उनले टेलिफोनमा भने, ‘आज तोडफोड भयो भन्दा अचम्ममा परेको छु ।’

यहाँ सङ्गर्ष समितिले साउन ११ गतेदेखि ढुवानीका साधनमा रोक लगाउने लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएको छ । लिम्बु समुदायको मुन्धुमी स्थलमा हाइड्रोपावर नवनाउन सङ्गर्ष समिति नै बनाएर स्थानीय आन्दोलित भएका छन् ।

कामदार बस्ने ब्यारेकमा तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिवाबाट टोली खटाइएको थियो । ‘सिंवा चौकीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा घटनास्थलमा पुगेर बुझ्दा तोडफोड भएको पाइयो,’ प्रहरी निरीक्षक एवं जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले भने, ‘तोडफोड गर्ने मानिसहरू फरार भएकाले उनीहरूको खोजतलासलाई तीव्रता दिएका छौं ।'

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully