सुत्केरी हुन नसकेपछि पाँचथरकी महिलाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइयो

उच्च रक्तचाप र शरीरमा कम्पन आउनेसहितका समस्याले थलिएकी तुम्बेवा गाउँपालिका–५ हाङगुमकी २० वर्षीया गर्भवतीलाई उद्धार गरी काठमाडौं लगिएको हो ।

श्रावण १७, २०८२

लक्ष्मी गौतम

After failing to give birth, the woman from Panchthar was rescued by helicopter and sent to Kathmandu

पाँचथर — सुत्केरी हुन नसकेपछि पाँचथरकी एक गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको छ ।

उच्च रक्तचाप र शरीरमा कम्पन आउनेसहितका समस्याले थलिएकी तुम्बेवा गाउँपालिका–५ हाङगुमकी २० वर्षीया मुना कुरुम्वाङको स्थानीय स्वास्थ्य संस्थामा प्रसूति सम्भव नभएपछि शनिबार अपराह्न हेलिकोप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष बाबुराम खड्काले जानकारी दिए ।

खड्काका अनुसार चिकित्सकहरुले मुनालाई उच्च रक्तचाप र शरीर सुनिने समस्या (प्रि-एक्लेम्प्सिया) भएको थियो । उनलाई उद्धारका लागि तुम्बेवा गाउँपालिकाको पहल र अनुरोध तथा जिल्ला प्रशासन कार्यालय पाँचथरको सिफारिसमा राष्ट्रपति महिला हवाइ उत्थान कार्यक्रममार्फत नेपाली सेनाको हेलिकोप्टर तुम्बेवा आएको थियो ।

काम विशेषले काठमाडौंमै रहेका गाउँपालिका अध्यक्ष खड्कासमेत मुनाको उद्धारका लागि त्यही हेलिकोप्टरमा काठमाडौंदेखि हाङगुम आइपुगेका थिए । 

कुरुम्वाङलाई काठमाडौंस्थित परोपकार प्रसूति अस्पताल थापाथली पुर्‍याइएको छ । यसअघि पनि तुम्बेवाका विभिन्न स्थानबाट महिलाको उद्धार गरी काठमाडौं लगिएको छ ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully