कार्यक्रममा कोदोबाट बनाइएका विभिन्न परिकारहरू केक, प्यानकेक, रोटी, मःम, खीर, बिस्कुट, कुकीज, तोङ्बा, रक्सी, निम्की आदि प्रदर्शनी गरिएको थियो ।
खोटाङ — दिक्तेलमा शुक्रबार प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको छ । यस अवसरमा वक्तृत्वकला, किसानलाई सम्मान तथा कोदोको परिकार प्रदर्शनी गरिएको छ ।
कोदोको महत्त्वका विषयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सरस्वती माविकी विप्सा खनाल प्रथम, माउन्ट एभरेस्ट बोर्डिङ स्कुलका प्रताप खत्री दोस्रो, शितला मावि खाल्लेकी प्रनिशा राई तेस्रो र जालपा मावि जालपाका प्रज्ज्वल खड्का सान्त्वना भएका छन् । उनीहरूमध्ये प्रथम हुनेले दुई हजार पाँच सय, दोस्रो हुनेले दुई हजार दुई सय पचास, तेस्रो हुनेले दुई हजार र सान्त्वना हुनेले एक हजार सात सय पचास रुपैयाँ नगदसहित प्रमाणपत्र पाएका छन् ।
त्यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वैकल्पिक बाली प्रोत्साहन कार्यक्रमअन्तर्गत प्याज खेती, तोरी खेती र माहुरीपालन गर्ने किसानलाई सम्मान गरिएको छ ।
यसअनुसार, ४४ जना प्याज खेती गर्ने किसानलाई तीन लाख उनान्साठी हजार सात सय पचहत्तर रुपैयाँ, १५ जना माहुरीपालकलाई दुई लाख एकतीस हजार नौ सय र १७ जना तोरी उत्पादकलाई अन्ठानब्बे हजार पाँच सय बीस रुपैयाँ वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताएका छन् ।
उक्त कार्यक्रम कृषि ज्ञान केन्द्र खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा कोदोबाट बनाइएका विभिन्न परिकारहरू केक, प्यानकेक, रोटी, मःम, खीर, बिस्कुट, कुकीज, तोङ्बा, रक्सी, निम्की आदि प्रदर्शनी गरिएको थियो ।
