डाइभर्सनको भर, सधैंको डर

हेवा खोलामा बाढीले पुरानो डाइभर्सनमा क्षति पुर्‍याएपछि दैनिक सवारी आवागमनमा समस्या देखिएको छ ।

श्रावण १६, २०८२

लक्ष्मी गौतम

Full of diversions, constant fear

What you should know

पाँचथर — तमोर करिडोरअन्तर्गत पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुट्याएर बग्ने हेवा खोलाको डाइभर्सन बगेपछि जेठ पहिलो सातादेखि यातायात आवागमन ठप्प छ । पाँचथरको फिदिमदेखि नाङ्गिन, याङनाम, सिदिन प्राङवुङ हुँदै नेपाल–भारत सीमावर्ती फालौटलाई जोड्ने फिदिम सडकअन्तर्गत फालेलुङ–६ र ५ लाई छुट्याएर बग्ने मुवा खोलाको डाइभर्सन बगेपछि यो बाटो असार अन्तिम सातादेखि अवरुद्ध छ ।

मेचीका पहाडी जिल्लालाई झापासँग जोड्ने लाइफलाइनका रूपमा स्थापित मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुट्याएको हेवा खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याउँदा दैनिकजसो सवारी आवागमन प्रभावित हुने गरेको छ ।

यस्तै मध्य पहाडी राजमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ, च्याङथापु हुँदै थर्पु जोड्ने दोभाने खोला, फिदिमदेखि फालेलुङ गाउँपालिका केन्द्र थकेपुङ जाने सडकमा पर्ने सिदिन र मेमेङ जोड्ने घुमाउनेटारमा पनि पुल नबन्दा डाइभर्सनको भरमा सवारी र ढुवानीका साधन आउजाउ गरिरहेका छन् । यसरी डाइभर्सनको भरमा आउजाउ भइरहेकामध्ये मध्य पहाडी राजमार्गको दोभानेसँगै हेवा खोलाको घुमाउनेटार, लुङमादिन र तमोर करिडोरअन्तर्गत माझीटारनजिकको हेवा खोलाका पुल २०८० असार २ गतेको बाढीले बगाएको थियो । यस्तै मेची राजमार्गको हेवा खोला, फिदिम–फालौट सडक खण्डको फेमे र मुवा खोलाका पुल गत असोज १२ गते आएको बाढीले बगाएको थियो ।

Full of diversions, constant fearमेची राजमार्गअन्तर्गत फिदिम र हिलिहाङलाई जोड्ने हेवा खोलामा डाइभर्सनमा क्षति पुगेपछि खोलाबाट एम्बुलेन्स तारिँदै ।

मेची राजमार्गको हेवा खोला पुल २०८० असार २ मा पनि बाढीले बगाएको थियो । लगत्तै बनेको बेलिब्रिज पुनः असोज १२ मा बगेपछि पाँचथर र ताप्लेजुङ जिल्ला सडक सञ्जालबाट विच्छेद भएसँगै तेस्रो पटक बनाइँदै गरिएको मोडुलर ब्रिज निर्माणकै क्रममा गत जेठ ३१ गते भाँचिएपछि यो खोलामा अस्थायी डाइभर्सनकै भरमा सवारी र ढुवानीका साधन वारपार गराइँदै आएको हो । पहाडी जिल्ला पाँचथरका प्रायः खोलामा ह्युमपाइपमार्फत पानी तर्काएर माथि ढुङ्गा बिछ्याउँदै गाडी तर्ने ट्र्याक निकालिएको छ । घुमाउनेटार र फेमे खोलामा भने ह्युमपाइपमाथि ढलान गरेर केही पक्की स्वरूप दिइएको छ ।

मेची राजमार्ग र तमोर करिडोरमा पर्ने हेवा खोला तर्दै पाँचथरको हिलिहाङ, याङवरक हुँदै ताप्लेजुङसम्मका मानिस आउजाउ गर्छन् । यी क्षेत्रमा खाद्यान्न ढुवानी गर्ने बाटो पनि यहीँ हो । यस्तै फेमे खोलाले जिल्लाको फिदिम नगरपालिका–१०, ११, १२, १३ सँगै फालेलुङ गाउँपालिकालाई सडक सञ्जालमा जोडेको छ । उता दोभाने खोलाले याङवरक गाउँपालिका–१ र २ सँगै ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ र २ लाई जोड्छ । यत्तिका भूगोलमा बसोबास गर्दै नागरिकले उपभोग गर्दै आए पनि आधा दर्जन बढी पुल खोलानालाबाट डाइभर्सनको भरमा सवारी र ढुवानी आउजाउ भइरहे पनि पक्की पुल बनाउनतर्फ सरकारी निकायले ध्यान दिएका छैनन् ।

मेची राजमार्गमा पर्ने हेवा खोलामा मोडुलर ब्रिज निर्माणकै क्रममा भाँचिएपछि पुनः निर्माणका लागि सामान ढुवानीको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराई बताउँछन् । योसँगै मेची राजमार्गमा पर्ने हेवा खोलामा दीर्घकालीन समस्या समाधानका लागि पक्की पुलका डिजाइन बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष बजेट र टेन्डर स्वीकृतिका लागि माग गरिएको सडक डिभिजन इलामले जनाएको छ ।

Full of diversions, constant fearहेवा खोला र दोभाने खोलामा पुल बनाउने क्षेत्राधिकार संघीय सरकारको हो । यीबाहेक फेमे, मुवा, घुमाउनेटार र लुङमादिनलगायतका खोलामा भने प्रदेश सरकारले पुल थाप्ने दायित्व कोशी प्रदेश सरकारको हो । वर्षा अगावै पुल बगाएका सबै ठाउँमा बेलिब्रिज हाल्न प्रदेशका मन्त्री, सांसद र भौतिक पूर्वाधार मन्त्रालयसँग अनुरोध गरे पनि प्रक्रिया अगाडि नबढेको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले बताउँछन् । ‘बाढीले पुल लगेको तीन वर्ष बित्न लाग्यो, वर्षा नलाग्दै डाइभर्सनको विकल्प नखोजिए झन् ठूलो जोखिम निम्तिने देखिन्छ । समस्या समाधानका लागि जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिले प्रदेश र संघीय सरकारका निकायलाई घच्घच्याइरहेका छौं, सुनुवाइ भएको छैन,’ मेयर काफ्लेले भने ।

डाइभर्सन गरिएका अधिकांश स्थानमा दुईतर्फी गाडी तर्ने अवस्था छैन, ठूला सवारी र ढुवानीका साधन मुस्किलले मात्र गुडिरहेका छन् । हेवा खोला वारि र पारि अस्थायी रूपमा खनिएका सडकको गोलाइ नपुग्दा सवारी पास हुन नसकेर घण्टौं जाम हुने गरेको छ । ‘डाइभर्सनको विकल्प पनि नखोज्ने र वारिपारिका सडक स्तरोन्नति पनि नगर्ने हो भने यहाँ दुर्घटनाको जोखिम छ,’ ट्रक चालक विशाल लिम्बू भन्छन् । अस्थायी डाइभर्सनबाट हिउँदभर जेनतेन गाडी तरे पनि वर्षा लाग्नासाथ बाढीले कतिबेला डाइभर्सन बगाउने टुंगो नहुँदा यात्रा अनिश्चित हुने चालकहरू बताउँछन् ।

Full of diversions, constant fearबाढीले पुल बगाएका पहाडका खोलानालामा पुल बनाउन स्थानीय तहका जनप्रतिनिधिले पटक–पटक संघीय र प्रदेश सरकारका मन्त्री र मन्त्रालयका सचिवहरूलाई आग्रह गर्दै आएका छन् । कोशी प्रदेश सभाका सांसदहरूले पनि सदनमार्फत पटक–पटक ध्यानाकर्षण गराए पनि सरोकारवाला निकाय मौनप्रायः छन् ।

पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एकमात्र संघीय सांसद वसन्तकुमार नेम्वाङ अठार महिनादेखि बिरामी भएर बोल्न नसक्ने अवस्थामा छन् । त्यसले पनि जिल्लाको समस्याका विषयमा सदन र सरकारमा प्रसंग उठाउन नसकेको स्थानीय अगुवा सूर्यकुमार निरौलाले बताउँछन् ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully