जन्मकैद तोकिएका प्रतिवादी १३ वर्षपछि पक्राउ

जिल्ला अदालत ताप्लेजुङले जन्मकैदको फैसला गरेका सुवास लिम्बूलाई गृहजिल्ला फर्कंदा प्रहरीले फुङलिङ बजारबाट पक्राउ गरेको छ।

श्रावण १६, २०८२

आनन्द गौतम

Defendant sentenced to life imprisonment arrested after 13 years

ताप्लेजुङ — प्रहरी जवान भूपाल आचार्यको हत्या र चन्द्र देवानलाई गम्भीर घाइते हुनेगरी भएको घटनामा जन्मकैदको सजाय तोकिएका एक युवक १३ वर्षपछि पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका सुवास लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत ताप्लेजुङले २०७१ असोज ३१ गते जन्मकैदको फैसला गरेको थियो । 

प्रहरीको फरार सूचीमा रहेका सुवास भारतको बैंलोर, हैदरावाद, चेन्नई लगायतका ठाउँमा बस्दै आएको र गृहजिल्ला आएको मौका पारेर पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार शुक्रबार सदरमुकाम फुङलिङ बजारबाटै पक्राउ गरिएको हो । 

२०६९ असोज १० गते दोभान बजारमा खटिएको गस्ती टोलीमाथि आक्रमण भएको थियो । उक्त घटनामा एक प्रहरीको मृत्यु हुनुका साथै एकजना गम्भीर घाइते भएका थिए । प्रहरीको हतियारसमेत खोसिएको भन्दै प्रहरीले अदालतमा मुद्दा चलाएको थियो । 

सुवासलाई जिल्ला अदालतमा पेस गरिएको र अदालतको आदेशअनुसार कैद भुक्तानका लागि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ । २८ वर्षीय सुवासले अदालतको आदशअनुसार अब २० वर्षसम्म कारागार बस्नुपर्ने छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully