अस्पतालमा आमरण अनशनरत मेयरको माग पूरा गराउन पहल गर्ने स्वास्थ्यमन्त्रीको आश्वासन

बाँसको उपयोगमा नीति निर्माणको माग गर्दै अनशन बसेका भट्टराईको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि वीर अस्पतालमा उपचार भइरहेको छ ।

श्रावण १५, २०८२

डम्बरसिं राई

Health Minister's assurance that he will take initiative to meet the demands of the mayor who is on death row in the hospital

What you should know

खोटाङ — स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अस्पतालमा आमरण अनशनरत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको स्वास्थ्य अवस्था बुझेका छन् ।

 विभिन्न स्थानीय उत्पादनको प्रवर्द्धनलगायत मागसहित बुधबारदेखि आमरण अनशनमा बसेका भट्टराईलाई बिहीबार मध्याह्न १२ बजेतिर वीर अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे बुझेका हुन् ।

मन्त्री पौडेलले भट्टराईले राखेका मागप्रति सकारात्मक भएको भन्दै वार्ताको माध्यमबाट माग पूरा गराउन पहल गर्ने आश्वासन दिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले समेत भट्टराईको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालमै आएर बुझेको घिमिरेले जनाएका छन् । ‘स्वास्थ्यमन्त्रीज्यूले मेयर सापको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नु भयो, मेयरको मागप्रति सकारात्मक हुँदै वार्ताको माध्यमबाट माग पूरा गराउन पहल गर्छु भन्नु भएको छ,’ घिमिरेले भने, ‘राष्ट्रिय मानवअधिकार आयोगको टोलीले पनि मेयरको स्वास्थ्य अवस्थाबारे बुझेको छ ।’

बुधबारदेखि माइतीघर मण्डलामा आमरण अनशन बसेका भट्टराईको राति स्वास्थ्य बिग्रिएपछि वीर अस्पताल भर्ना भएका हुन् । भट्टराईको आकस्मिक कक्षमा उपचार भइरहेको घिमिरेले बताएका छन् । 

बाँसलाई विल्डिङ कोडमा समावेश गरी सरकारी मूल्यांकन गर्न मापदण्ड बनाई स्थानीय सामग्री प्रयोग गर्ने नीति निर्माण गर्नुपर्ने, बाँसको सदुपयोगबाट स्थानीयस्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवाहरूलाई स्वरोजगार बनाई आयआर्जन गर्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नु पर्ने, बाँसले भू–क्षय नियन्त्रण, वातावरण संरक्षण, जलवायु प्रदूषणको नियन्त्रण, पर्यावरणीय संरक्षण तथा अत्याधिक कार्बन सञ्चिती गर्ने भएकाले यसको संरक्षण र प्रवर्द्धन गर्नु पर्नेलगायत माग राख्दै भट्टराई सत्याग्रह हुँदै आमरण अनशनसम्म पुगेका हुन् । 

गत असार ९ गतेको १३ औं नगरसभाको निर्णयले सत्याग्रह बस्ने निर्णयपछि भट्टराई साउन ४ गते बाँसको मान्द्रो, गुन्द्री, राडी, पराललगायत बोकेर काठमाडौंतर्फ गएका थिए ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully