सोलुदुधकुण्डको काठमाडौंमा एकीकृत सेवा शिविर : ५ हजारभन्दा बढीले लिए सेवा 

नगरपालिकाको शिविरमा ५ हजार ३३५ जनाले सेवा लिए । नगरपालिकाले १३ लाख ४५ हजार ५६७ रुपैयाँ राजस्व संकलन गर्‍यो ।

श्रावण १४, २०८२

भानुभक्त निरौला

Integrated Service Camp in Solududhakund, Kathmandu: More than 5 thousand took service

What you should know

सोलुखुम्बु — हिमाली जिल्ला सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्डले संघीय राजधानी काठमाडौंमा ४ दिने एकीकृत सेवा शिविर आयोजना गरेर ५ हजारभन्दा बढी नगरवासीलाई सेवा दिएको छ ।

काठमाडौंमा बस्दै आएका ५ हजार ३ सय ३५ नगरवासीले शिविरबाट सेवा लिएको मेयर नाम्गेलजाङ्बु शेर्पाले बताए । वर्षायाम, व्यापार व्यवसायी, फरक क्षमता भएका व्यक्ति, आर्थिक रुपले विपन्न र अस्पताल जानुपर्ने समस्या भएका नागरिकलाई  मध्यनजर गर्दै काठमाडौंमै शिविर आयोजना गरिएको नगरपालिकाले जनाएको छ । शिविरबाट नगरपालिकाले आन्तरिक राजस्वतर्फ १३ लाख ४५ हजार ५ सय ६७ रुपैयाँ राजस्व संकलन गरेको छ । 

नगरपालिका स्थायी ठेगाना भई काठमाडौंमा अस्थायी रुपमा बसोबास गरिरहेको करिब २० प्रतिशत जनसंख्यालाई नगरपालिकाले काठमाडौंमै गएर सेवा दिएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नगरपालिकाको जनसंख्या २५ हजार ६ सय ६८ हो  । सो अनुसार नगरपालिकाको सेवा लिने ५ हजार सेवाग्राहीलाई काठमाडौंमै सेवा दिन नगरपालिका काठमाडौं पुगेको हो ।

Integrated Service Camp in Solududhakund, Kathmandu: More than 5 thousand took service

साउन ११ गतेदेखि सुरु गरिएको सेवा शिविर १३ सम्म निर्धारण गरिएको थियो । तर सेवाग्राही बाँकी रहेको महसुस गरेर नगरपालिकाले १ दिन थप गरेको नगरपालिकाका नगरप्रमुख शेर्पाले प्रस्ट्याए । उनले वर्षायामको समयमा नागरिकको समस्यालाई ख्याल गर्दै सरकार नै काठमाडौं पुगेर सेवा दिएको हो ।  

नगरपालिका र ११ वटै वडाका सबै जनप्रतिनिधि र कर्मचारी सेवा दिन काठमाडौं पुगेका हुन् । बौद्धको एक पार्टी प्यालेसमा अस्थायी कार्यालय खडा गरेर पन्जिकरणसम्बन्धी सबै काम, नगरपालिकाले दिने सबै सिफारिस र सेवा प्रवाहसम्बन्धी काम गरिएको प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले बताए ।

भानुभक्त

Link copied successfully