फालेलुङमा जोडियो विपदबारे पूर्वसूचना दिने साइरन

नेपाल रेडक्रस सोसाइटीले पाँचथरको फालेलुङमा बाढी र पहिरो पूर्वसूचना दिने साइरन जडान गरेको छ जसले जनधनको क्षति न्यूनीकरणमा मद्दत पुर्‍याउनेछ।

श्रावण १४, २०८२

लक्ष्मी गौतम

Disaster warning siren added to Falelung

पाँचथर — फालेलुङ गाउँपालिका–५ प्राङबुङमा प्राकृतिक प्रकोप र विपदका घटनाको पूर्वसूचना दिने साइरन जडान गरिएको छ । साइरन नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा जडान गरिएको हो । 

साइरनले बाढी, पहिरो र भारी वर्षा हुनेबारे पूर्वसूचना दिने र जसबाट सम्बन्धित क्षेत्रका नागरिकलाई सुरक्षित रहन मद्दत पुग्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरका अधिकृत गुरुराज तिम्सिनाले जानकारी दिए ।

सम्भावित विपदको पूर्वजानकारी पाउँदा जनधनको क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । साइरन जडान गर्न फिनिस रेडक्रसको ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरमार्फत फालेलुङमा सञ्चालन भइरहेको रेडी परियोजनाअन्तर्गत यो साइरन जोडिएको हो । साइरन जडानका लागि रेडक्रससँग फालेलुङ-५ वडा कार्यालयले औपचारिक अनुरोध गरेको थियो । जसलाई अनुमोदन गर्दै गाउँ कार्यपालिका बैठकले सिफारिस गरेपछि जडानको प्रक्रिया अगाडि बढेको गाउँपालिका प्रवक्तासमेत रहेका फालेलुङ-५ का वडाध्यक्ष भरतकुमार खपाङ्गी मगरले बताए ।

५ नम्बर वडा कार्यालयको भवन प्राङबुङमा जोडिएको साइरनको रिमोट कन्ट्रोल गाउँपालिका केन्द्र थकेपुङमा रहनेछ । साइरन जडान गरिएको स्थानदेखि ५ किलोमिटर टाढासम्म सुन्न सकिने रेडक्रसले जनाएको छ । साइरन सोलार सिस्टम र विद्युत् दुवै प्रणालीबाट चार्ज गर्न मिल्ने ब्याकअप राखिएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully