हरेक शुक्रबार बिहान सरकारी र संघ, संस्थाको कार्यालय र आसपासका क्षेत्रमा अनिवार्य सरसफाइ अभियान चलाउन निर्देशन
ताप्लेजुङ — साउन महिनामा मात्रै ताप्लेजुङमा पाँच जनामा डेंगी संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले हरेक शुक्रबार बिहान सरकारी र संघ, संस्थाको कार्यालय र आसपासका क्षेत्रमा अनिवार्य सरसफाइ अभियान चलाउन निर्देशन जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बुधबार दिउँसो भएको डेंगी संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले साउन र भदौ दुई महिनाका लागि यो अभियान चलाउनै पर्ने भएको बताए । प्रमुख जिल्ला अधिकारीले कार्यालय प्रमुखलाई सरसफाइको भिडियो पठाउन पनि निर्देशन दिए ।
यसको प्रारम्भ बिहीबार बिहान सदरमुकाम फुङलिङको प्रवेशद्वार हेलिप्याडको सशस्त्र प्रहरीको जाँच बिन्दुबाट सुरु गरिने पनि शर्माले जानकारी दिए । डेंगी संक्रमणको जोखिमबाट ताप्लेजुङ पनि मुक्त नभएकाले जनप्रतिनिधि, राजनीतिक दल, सर्वसाधारण नागरिक सबैको सक्रियतामा यसको रोकथाममा लाग्ने प्रण पनि गरिएको छ ।
