पूर्वी पहाडमा लाखेनाच सुरू

श्रावण १३, २०८२

दीपेन्द्र शाक्य

Lakhenach started in the eastern hills

संखुवासभा — नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेको पूर्वका संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटालगायतका जिल्लामा मंगलबारबाट लाखेनाच सुरु भएको छ । 

नेवार संस्कृति र परम्पराअनुसार भीमसेन मन्दिरमा पूजा र सगुन खुवाएर नागपञ्चमीबाट लाखे निकालिएको छ । संखुवासभामा खाँदबारी र चैनपुरमा रहेको भिमसेन मन्दिरबाट विधिवत् लाखेनाच सुरु गरिएको हो । 

नेवा देय दबु संखुवासभाको नेतृत्वमा सदाझैं खाँदबारी, चैनपुर, सिभुवा, तुम्लिङटारलगायतका व्यापारिक केन्द्रमा लाखेनाच सुरु गरिएको हो । लाखे कृष्णजन्माष्टमीको दिन भिमसेन मन्दिरमा विधिवत रुपमा नाच प्रदर्शन गरेपछि सकिन्छ । यो वर्ष नेवा देय दबुले सूचिकृत गरेरमात्रै लाखे नाच्न दिने व्यवस्था मिलाएको छ ।

संखुवासभामा बसोबास गर्ने नेवार समुदायका समूह र संस्था वा व्यक्तिहरुलाई मात्रै लाखेनाचमा सहभागी हुन आग्रह पनि गरेको छ । खाँदबारी नगर अध्यक्ष पुष्पबहादुर श्रेष्ठका अनुसार लाखे नाच्न अनिवार्य रुपमा नेवा देय दबुमा सूचीकृत हुनुपर्ने छ । 'लाखेनाचमा मादक पदार्थ सेवन गरी हुलहुज्जत गर्न पाइँदैन,' उनले भने, 'यातायातका साधन, पैदलयात्री र घरघरमा गएर जथाभावी रकम असुल्न पाइने छैन ।'

'लाखे नेवार समुदायको संस्कृतिसँग जोडिएको छ,' नेवा देय दबु संखुवासभा अध्यक्ष सीता शाक्य भन्छिन्, 'अन्य वर्ग वा समुदायबाट लाखेनाच प्रस्तुत गर्न पाइने छैन ।'

दीपेन्द्र

Link copied successfully