मेचीनगरमा दुई साता नबित्दै दुई जनामा जापानिज इन्सेफलाइटिस पुष्टि

विश्व स्वास्थ्य संगठन र स्वास्थ्य सेवा विभाग मातहतको परिवार कल्याण महाशाखाको टोली मेचीनगर आइपुगेको छ।

श्रावण १३, २०८२

नवराज सुवेदी

Japanese encephalitis was confirmed in two people in Mechinagar less than two weeks ago

What you should know

झापा — मेचीनगरमा दुई साता नबित्दै दुई जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ । मेचीनगर ३ र ५ का ३६ र ५५ वर्षीया महिलामा १३ दिनको फरकमा यस रोग देखिएको नगरको स्वास्थ्य शाखाले पुष्टि गरेको छ।

छोटो अवधिमै दुई जनामा यस रोग देखिएपछि यतिबेला विश्व स्वास्थ्य संगठन र स्वास्थ्य सेवा विभाग मातहतको परिवार कल्याण महाशाखाको टोली मेचीनगर आइपुगेको छ।

विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि डा. सोनिया भगत र परिवार कल्याण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तर कोइराला लगायत मेचीनगर आइपुगेका हुन्। उनीहरूले संक्रमण देखिएको स्थानमै पुगेर स्थानीयसँग छलफल समेत गरेका छन्।

नगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार, यस रोग देखिएको स्थान वडागत रूपमा फरक भए पनि छिमेकी गाउँ हुन्, जुन नजिक–नजिकै छन्। मेचीनगर ३ की ३६ वर्षीया महिला उपचारपछि घर फर्किए पनि मेचीनगर ५ की ५५ वर्षीया महिला भने बेहोस अवस्थामा उपचाररत रहेको उनले जानकारी दिइन्।

उनको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। ‘उहाँ कोमामा हुनुहुन्छ, अवस्था गम्भीर छ,’ स्वास्थ्य शाखा प्रमुख सापकोटा भन्छिन्, ‘मेचीनगर ३ की महिला उपचार फर्किए पनि बोलीमा भने टुंगो छैन।’

एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिएपछि उनीहरू शुरुमा स्थानीय निजी क्लिनिकमा गएका थिए। पछि नमुना संकलन गरेर परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइयो। जुन परीक्षणमा जापानिज इन्सेफलाइटिस पुष्टि भएको सापकोटा बताउँछिन्।

छोटो समयमा दुई जनामा रोग देखिएपछि नगरको स्वास्थ्य शाखा समेत सक्रिय भएको छ। ‘स्थलगतरूपमै पुगेर निगरानी गर्ने, सचेतनाका विभिन्न कार्यक्रम गर्ने, स्थानीयसँग छलफल गर्ने जस्ता कार्य गरिरहेका छौं,’ उनले भनिन्, ‘आज पनि विभिन्न चरणमा जनप्रतिनिधि, समुदाय, स्वास्थ्यकर्मी लगायतसँग विभिन्न चरणमा आवश्यक छलफल गरिरहेका छौं।’

लमखुट्टेको टोकाइबाट सरी मस्तिष्कमा संक्रमण हुने यो गम्भीर प्रकृतिको रोग हो । यो जुनसुकै उमेरका मानिसलाई लाग्ने भए पनि विशेषगरी १५ वर्ष मुनिका बालबालिकालाई देखिन्छ। तर, पछिल्लो समय बालबालिकाभन्दा पाको उमेर समूहका मानिसलाई पनि रोग देखिने क्रम बढेको स्वास्थ्य अधिकारीहरू बताउँछन्।

बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, बेहोस हुने, घाटी अह्ररो (कडा) हुने, काँप्ने जस्ता यस रोगका लक्षणहरू हुन्। यस रोगको परीक्षण त्यति सहज पनि छैन। ढाडको पानी निकालेर यो रोग भए/नभएको परीक्षण गरिन्छ।

विश्व स्वास्थ्य संगठनकी प्रतिनिधिका अनुसार सन् २०२५ मा देशभर ९ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ। कोशी प्रदेशको झापा र मोरङमा दुई–दुई जना, मधेशमा चार जना र बागमती प्रदेशको चितवनमा एक जना गरी ९ जनामा यस रोग देखिएको हो। स्वास्थ्य अधिकारीका अनुसार मोरङमा यस रोगकै कारण एक जनाको मृत्यु समेत भएको थियो। तर, नेपाल सरकारले आधिकारिक रूपमा उक्त मृत्युको पुष्टि भने गरेको छैन।

नवराज सुवेदी

Link copied successfully